गोरखामा अन्तिम बाजी मार्ने बाबुराम कि नारायणकाजी ?
काठमाडौं २३ मंसिर
गत १० र २१ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन र त्यसपछि जारी मतगणनामा बहुचर्चित क्षेत्र गोरखा २ पनि बनिरहेकाे छ ।
वाम गठबन्धनमा सहमति गरेका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई गोरखा २ नम्बर क्षेत्र नपाएको लगायत कारण देखाएर गठबन्धनबाट बाहिरिए ।
नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र भट्टराई दुवैले गोरखा २ लाई उम्मेदवारी थलो रोजे । अन्त्यमा बाबुराम बाहिरिएपछि वामगठबन्धनबाट श्रेष्ठ र लोकतान्त्रिकबाट भट्टराई गोरखा दुईका उम्मेदवार र एक अर्काका प्रतिद्वन्दी बने ।
मतदान अघि र मतदानपछि दुवैले जित्ने दाबी समेत गरिरहे । मतगणनाको सुरुवाती अग्रता श्रेष्ठकै पक्षमा देखियो । तर, धेरै बेर टिक्न नदिएर त्याे अग्रता भट्टराईले खोसे । त्यसपछि श्रेष्ठले त्यो अग्रता खोस्न सयौं कोसिस गरेपनि अहिलेसम्म सफल हुन सकेका छैनन् । बरु भट्टराईले अग्रता सय, पाँच सय, हजार हुँदै पछिल्लो समय ३ हजारकाे फराकिलाे बनाएर लगेका छन् ।
भट्टराईको अग्रतामा ब्रेक लगाउन नसक्नुले र मतान्तर फराकिलो हुँदै गएकाले अब गोरखा २ मा श्रेष्ठका जित भने लगभग सकिए बराबर भएको छ । माओवादी केन्द्रकै एक जिल्ला नेता यहीँ तरिकाले मत खसेको खण्डमा श्रेष्ठ चार हजार बढी मतले पराजित हुने अवस्था देखिएको स्वीकार्छन् ।
यो समाचार तयार पार्दासम्म २३ हजार १ सय १७ मत ल्याएर भट्टराईले अग्रता कायम राखेका छन् । श्रेष्ठले भने १९ हजार ४ सय ७५ मतका साथ पछ्याईरहेका छन् ।
मतगणना १५ हजार भन्दा कम रहेको र अब आउने मतपरिणाम दुवै नेतालाइ छरिने जिल्लाका नेता कार्यकर्ता बताउँछन् । यसर्थ, अब भट्टराईको अग्रतालाई ब्रेक लगाएर जित सुनिश्चित गर्न श्रेष्ठलाई मुश्किल देखिएको छ । भट्टराई भने प्रत्यक्षतर्फ एक सिट जित दर्ता गर्दै समानुपातिकमा ३ प्रतिशत कटाएर राष्ट्रिय दल बन्ने बाटोमा छन् । मतगणना जारी भएकाले कायपलट भएको अवस्थामा भने नतिजा हेरफेर हुनसक्ने झिनो सम्भावना भने अझै टुटेको छैन ।
प्रकाशित मिति:
December 09, 2017