हेटौँडा, २९ साउन । मकवानपुर जिल्लाको पूर्वी भेगमा पर्ने बकैया गाउँपालिका–१० मन्थलीमा आज बिहान वर्षासँगै आएको पहिरोमा पुरिएर एकै परिवारका छजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।
मृत्यु भएका परिवारको विवरण लिन ठिङ्गनबाट घटनास्थलतर्फ प्रहरी टोली गइसकेको र थप विवरण आउन अझै केही समय लाग्ने भएको जिप्रका मकवानपुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।
यस्तै, अविरल वर्षासँगै पहिरोले घर बगाउँदा सुर्खेतमा तीन जनाको मृत्यु भएको छ ।
सदरमुकाम वीरेन्द्रनगरदेखि पूर्वमा पर्ने गुर्भाकोट नगरपालिका–६ बडाखोलीस्थित सिन्दुरखोला गाउँमा पहिरोले घर बगाउँदा एकै परिवारका तीनजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा गुर्भाकोट–६ का ८३ वर्षीय गुमानसिं बुढा, उनका १४ वर्षीय नाति विक्रम बुढा र १२ वर्षीय सरन बुढाको मृत्यु भएको छ । गएराती १२ बजेतिर गएको पहिरोले घर बगाउँदा उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय, छिन्चुले जानकारी दिएको छ । पहिरोमा पुरिएका उनीहरुको शव प्रहरीले आज बिहान निकालेको छ ।
यता, रत्न राजमार्गको हर्रे–कोहलपुर सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन बन्द भएको छ । भेरीगंगा नगरपालिकाको हर्रे नजिकै गएराति पहिरो गएको हो ।
सुर्खेत प्रवेश गर्ने मुख्य सडक नै अवरुद्ध भएपछि यात्रुको विचल्ली भएको प्रहरीले जनाएको छ । सडक खुलाउने प्रयास बिहानैदेखि शुरु भएको छिन्चु प्रहरीले जानकारी दिएको छ ।
Powered by Blogger.
पहिरोमा पुरिएर एकै परिवारका छ जनाको मृत्यु
प्रकाशित मिति:
August 13, 2017