'कम्युनिस्टले प्रजातान्त्रिक प्रणाली खान्छन भन्ने दिन गए ':एमाले नेता माधवकुमार नेपाल
नेकपा एमालेका नेता माधवकुमार नेपालले नेपाली काँग्रेसले सत्ता लम्बाउन अनेक बखेडा निकालेको आरोप लगाएका छन् । काँग्रेसले जनमतको अपमान गरेको बताउँदै उनले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्नुपर्नेबेला बखेडा निकाल्नु अस्वाभाविक भएको बताएका छन् ।
पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ काठमाडौँले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उनले भने –“जनादेशअनुसार नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा काँग्रेसले सत्ता लम्बाउनका लागि अनेक बखेडा निकालेको छ ।”
नेपालले काँग्रेसले कम्युनिस्टले प्रजातान्त्रिक प्रणाली, लोकतन्त्र सिद्धयाएर अधिनायक ल्याउँछन् भनी जनतालाई झुक्याउने दिन समाप्त भएको बताएका छन् । वामपन्थी सचेत भैसकेको बताउँदै उनले भने “कम्युनिस्टले प्रजातान्त्रिक प्रणाली खान्छन कि लोकतन्त्र खान्छन् वा अधिनायक ल्याउँछन् भनेर जनतालाई झुक्याउने दिन समाप्त भएको छ, वामपन्थी त्यसमा सचेत छन्,” ।
नेता नेपालले नेपालको संविधान संसारकै गर्भ गर्न लायक रहेको बताउँदै त्यसलाई कार्यान्वयनमा ल्याउन सचेत ढंगबाट सबै राजनीतिक दल लाग्नुपर्नेमा जोड दिए ।
पूर्वप्रधानमन्त्री नेपालले अब इमान्दारिता र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएर राज्य सञ्चालन गरिने बताउँदै योग्य मान्छेलाई जिम्मेवारी दिइने व्यवस्था गरी विकास निर्माणको अध्याय शुरु गरिने धारणा व्यक्त गर्नुभयो ।
“इमान्दारीपूर्वक काम गर्ने हो भने समृद्धि र विकास टाढा छैन”, उनले भने । नेता नेपालले आफ्नो पार्टी र नेकपा (एमाले)का बीच एकता हुनेमा आशङ्का नगर्न आग्रह पनि गरे।
प्रकाशित मिति:
December 27, 2017