पाँच वर्ष माओवादीलाई प्रधानमन्त्री दिएर वाम गठबन्धन भत्काउने प्रयासमा कांग्रेस
काठमाडौं ४ पुस
प्रदेश र प्रतिनिधिसभाको गत १० र २१ मंसिरमा सम्पन्न निर्वाचनमा वाम गठबन्धन दलसँग अप्रत्यासित हार बेहोरेको नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रलाई पाँच वर्षसम्म सरकारको नेतृत्व सुम्पिएर भएपनि वाम गठबन्धन फुटाउने प्रयास गरेको छ ।
निर्वाचनमा चुनावी तालमेल र चुनाव लगत्तै पार्टी एकता गर्ने घोषणा गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन टुटाउन कांग्रेसले पाँचै वर्ष भएपनि माओवादी केन्द्रलाई सरकारको नेतृत्व दिने प्रस्ताव अघि सारेको हो ।
यसअघि, प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिचको भेटमा देउवाले यस्तो प्रस्ताव गरेका हुन् ।
प्रचण्डले भने चुनाव पछि पहिलो पटक बसेको पार्टी सचिवालयको सोमबारको बैठकमा कांग्रेसबाट यस्तो प्रस्ताव आएको कुरा उल्लेख गर्दै अस्वीकार गरेको जानकारी दिएका थिए ।
एमाले र माओवादीले चुनाव अघि पार्टी एकता गर्ने सहमति गरेपनि पदिय बाँडफाँड लगायत प्राविधिक र सैद्धान्तिक विषय मिल्न बाँकी छन् । पछिल्लो समय एमाले नेताहरुले सबै कार्यकारी पद एमालेले नै राख्नुपर्ने आशयका अन्तरवार्ता दिएपछि दुई पार्टीको एकतामा प्रश्न समेत उब्जिन थालेकाे छ ।
सोमबारको माओवादी बैठकले भने सरकार गठन अगाडी नै एकताको विषय टुंग्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।
प्रकाशित मिति:
December 19, 2017