माओवादी बैठकमा एकताबारे यस्ता पनि आए प्रचण्डलाई धम्की
काठमार्डौं ४ पुस
नेकपा माओवादी केन्द्रको पार्टी सचिवालय बैठक प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि सोमबार पहिलो पटक बस्यो ।
बैठकमा विशेष गरेर पार्टी एकता, सरकार गठन र राष्ट्रिय सभा गठन विवादको विषयमा छलफल भएको थियो । बैठकले राष्ट्रिय सभा गठन राजनीतिक सहमतिमा गरिनुपर्ने निर्णय गरे पनि पार्टी एकता र सरकार गठनको विषयमा कतिपय नेताले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कुनै विषय नै नटुग्याई गरेमा नराम्रो हुने धम्की समेत दिन पछि परेनन् ।
सो क्रममा सचिवालय सदस्यहरुले एमाले नेताहरुले प्रधानमन्त्री, संसदीय दलको नेता र पार्टी अध्यक्ष समेत ओली नै हुनुपर्छ भन्दै हिडेको उल्लेख गर्दै सरकार गठन भन्दा अगाडी नै पार्टी एकता, पदिय बाँडफाँड तथा सैद्धान्तिक विषय टुंगो लगाउन प्रचण्डलाई दबाब दिएका थिए ।
एक नेताका अनुसार कतिपय नेताले अहिले सरकार गठन गरेमा भोलि पार्टी एकताका क्रममा धोका धरी हुन सक्ने भन्दै पार्टी एकताको विषय टुंग्याएर मात्र सरकार गठन गर्नुपर्ने समेत सुझाएका थिए । केही नेताहरुले चुनावमा धोका भएकै कारण हार बेहोरेको समेत रिपोर्टिङ गरेका थिए ।
बैठकमा सबै जसोले पार्टी एकता हुनुपर्नेमा जोड दिए पनि सरकार गठन अघि नै यस विषयको टुंगो लाग्नुपर्नेमा जोड दिएका थिए ।
बैठकमा पार्टी एकता, पदिय बाँडफाँड तथा सैद्धान्तिक विषयमा बढी कुरा उठेपछि अध्यक्ष प्रचण्डले सरकार गठन अघि नै पार्टी एकताको विषय टुंगो लाग्ने बताएका थिए ।
प्रकाशित मिति:
December 19, 2017