भारतले फेरि मिच्यो नेपाली भूभाग
काठमाडौ ३ माघ
भारतले फेरि पनि नेपाली सिमा मिचेको छ । सीमा स्तम्भ निर्माण गर्ने क्रममा वीरगन्ज महानगरपालिका–१ बजार छपकैयाँको ५० बिघा नेपाली भूभाग भारतमा पारिएको हो ।
नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले स्तम्भ ३९१ र ३९२ अन्तर्गतका सहायक स्तम्भ निर्माण गर्ने क्रममा उक्त क्षेत्रको भूभाग भारततिर पर्ने भएको कान्तिपुरमा समाचारमा छ ।
समाचारमा लेखिएको छ– उक्त जग्गाको नेपाली लालपुर्जा छ । जग्गाधनीले मालपोत कर तिर्दै आएका छन् ।
नागरिकता र लालपुर्जाले नेपाली नागरिक भए पनि जग्गा भारतमा पर्ने भएपछि स्थानीय आश्चर्यमा परेका छन् । कतिले केही वर्षअघि मात्र जग्गा खरिद गरेका थिए । नेपाल-भारत सीमासँगै बगेको सिरिसिया खोलाको धार परिवर्तन भएसँगै भारतीय पक्षले सीमा स्तम्भ राख्ने स्थान पनि परिवर्तन गरेको स्थानीयको दाबी छ । ८६ वर्षीय महावीर दासले अहिलेको सीमा सर्वेक्षण टोलीले साविक स्तम्भभन्दा झन्डै ५० मिटरदेखि एक सय मिटरसम्म नेपालभित्रको भूमिमा नयाँ स्तम्भ राखेको बताएका छन् ।
प्रकाशित मिति:
January 17, 2018