असार ७ - एकल जातीय पहिचानसहितको संघीयता नेतृत्वले अस्विकार गरेपछि असन्तुष्ट एमालेका केही जनजाति तथा मधेशी नेताहरूले पार्टी भित्र आफ्नो विचारको समूह बनाई संघर्ष गर्ने निर्णय गरेका छन् ।
तत्काल पार्टी नछाडी आफ्नो विचारका पक्षमा मत बढाउने निष्कर्षमा नेताहरू पुगेका छन् । दुई दिन धुलिखेलमा बसेको असन्तुष्ट नेताहरूको बैठकले पार्टीमै रहेर आफ्ना विचारका पक्षमा संघर्ष गर्दै शक्ति संचय गर्ने रणनीति बनाएको हो ।
पार्टीले आफ्ना विचारको कदर नगरे अन्त्यमा पार्टी छाड्ने उनीहरूको तयारी छ । बैठकमा सहभागी अधिकांशले पार्टी भित्र अन्तरसंघर्ष गर्नुभन्दा नयाँ पार्टी खोल्नुपर्ने पक्षमा मत राखे पनि तत्काल अन्तरसंघर्षमै जाने र संविधानसभा पुनःस्थापनाका लागि सडक संघर्षमा जाने निर्णय गरेको छ । बैठकपछि एमाले उपाध्यक्ष अशोक राईले पार्टी भित्र आफूहरूको छुट्टै विचारधारा भएकाले छुट्टै बैठक बसेको बताए । उनले संविधान बन्नका लागि संविधानसभा पुनःस्थापनाका लागि त्यसका पक्षमा उभिने सबैसँग सहकार्य गरेर सडक संघर्ष गरिने जनाए ।
राईले पार्टीले एकल जातीय राज्य नमाने पनि आफूहरू जातीय पहिचानसहितको संघीय संरचनामै रहेको र त्यसका लागि पार्टी भित्र संघर्ष गर्ने बताए । पार्टीको राष्ट्रिय भेलाले गरेको निर्णय यथास्थितिवादी र प्रतिगामी रहेको जनजाति नेताहरुको आरोप छ । उनले संविधानसभा बाहेक कुनै बाटोबाट ल्याइने संविधान आफूहरुलाई मान्य नहुने चेतावनी दिए ।
अशोक राई, पोलिब्युरो सदस्य रामचन्द्र झा, पृथ्बीसुब्बा गुरुङ, केन्द्रीय सदस्यहरू राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, शत्रुघन महतो, किरण गुरुङ, दलबहादुर रानामगर, रिजवान अन्सारी, हेमराज राई र गोपाल ठाकुर लगायत २२ जना भेलामा सहभागी थिए ।
Powered by Blogger.
नफुट्ने भो एमाले, माओवादीको सिको गदै विचार समुह गठन
प्रकाशित मिति:
June 21, 2012