मधु पाण्डे – दक्षिण कोरियाको बुसानमा गत २२ तारिख शुक्रबारबाट शुरु भएको ९५ औँ अन्तर्राष्ट्रिय लायन्स सम्मेलनमा सहभागि हुन नेपालबाट आएका लायन्स प्रतिनिधिहरु मोटो रकम बुझाएर आएको रहस्य खुलेको छ ।
२ लाख ५० हजार देखि ५ लाख ५० हजार रुपैयाँसम्म बुझाएर आएका उक्त व्यक्तिहरु सम्मेलन स्थलबाट आफ्नो आफ्नो सम्पर्क व्यक्ति मार्फत सुरक्षित गन्तब्यमा पुगिसकेको जानकारी हुन आएको छ । साथै उक्त सम्मेलनमा सहभागि हुन मकालु एडभेन्चर ट्राभलबाट आएको एक समूहसँग नेपाली राजदुतावासका राजदूत कमान सिंह लामाको नाम जोडिएकोमा सम्मेलनमा सहभागि पोखराका लायन्स प्रतिनिधिहरुले दुःख ब्यक्त गरेका छन् ।
कोरियन ईमिग्रेशनले शंका लागि बिशेष सोधखोज गरि राजदुतावासमा सम्पर्क गर्नु र उक्त समूहले नै रक्सी र चामल बोक्नु संजोग मात्र हुन नसक्ने भन्दै सम्बन्धित सरोकारवाला हरुले गम्भीर हुनु पर्ने बताएका थिए ।
उक्त विषयमा दुतावासमा सम्पर्क गर्दा राजदुत लामाले कसले के ल्यायो त्यो आफ्नो सरोकारको विषय नभएको बताउदै आफुलाई ईमिग्रेशनबाट फोन आएको तर दुतावासको यो बिषयमा कुनै भूमिका नरहने बताएको स्पस्टोक्ती दिएका थिए ।
राजदुत लामाले आफ्नो कार्यभार सम्हालेको केहि महिना मात्रै भएको, उनलाई स्वागत र सम्मान गरिने क्रम जारि रहेको वर्तमान परिवेशमा उनको नामबाट जो कोहिले पनि त्यसो गर्न सक्ने तर्क भने नकार्न सकिन्न ।
पैसा बढी तिरेर आएकाहरु कार्यक्रम स्थलबाट बाहिरिएको घटनाको जानकारी आफुले पनि पाएको बताउदै नेपाल ब्यापार संघका अध्यक्ष एवं लायन्स मदन के.सीले नेपालको प्रतिष्ठामा आंच आउने गरि लुकेर नबस्न अनुरोध गरेका छन ।
त्यसरी बढी पैसा तिरेकाहरुलाई पैसा दिएको प्रमाण भएमा सम्बन्धित निकाय संग सम्पर्क गरि पैसा फिर्ता गराउने पहल गर्ने बताउदै कोरिया सरकारले देखाएको सदासयतालाई सम्मान गरि फर्कन अनुरोध गरेका छन् ।
साथै सम्मेलनमा आएकाहरु कसैको सम्पर्कमा भए उचित परामर्स दिई फर्कने वातावरण मिलाई सहयोग गरिदिनु हुन सम्पूर्ण कोरियावासी नेपाली समुदायहरुलाई लायन्स केसीले अनुरोध गरेका छन् ।
उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका ४ वटै गर्भनर सहित २६८ लायन्स प्रतिनिधिहरु लगायत २०८ वटा राष्ट्रका २२ देखि २५ हजार लायन्सहरुले सहभागिता जनाएका थिए ।