क्यानडा पुगेका युवाद्वारा डुबानपीडितलाई आर्थिक सहयोग प्रदान
साउन १६ – वैदेशिक रोजगारीको सिलसिलामा क्यानडा गएका दाङका ६ जना युवाले दुई साताअघि देउखुरी क्षेत्रमा आएको बाढीका कारण डुबानमा परेका पीडित परिवारका लागि राहतस्वरुप एक लाख रुपैयाँ सहयोग गरेका छन् ।
विभिन्न सञ्चारमाध्यमले डुबानपीडितको अवस्थाबारे समाचार प्रकाशन एवम् प्रसारण गरेपछि त्यसबारे थाहा पाएकाले आफूहरूले तलबबाट कटाएर उक्त रकम सहयोग गरेको उनीहरूले बताएका छन् ।
हाल क्यानडामा रहेका सिसहनियाका हरिप्रसाद पाण्डे, हलवार गाविस–७ का नरबहादुर टण्डन, घोराही नगरपालिकाका अनिल श्रेष्ठ, सोही ठाउँका दामोदर रावत, लमहीका बुद्धिप्रकाश वली र पञ्चकुलेका प्रेम बस्नेतले बाढीपीडितका लागि उक्त रकम पठाएका हुन् ।
ती युवाले पठाएको रकमको चेक सोमबार नै हरिप्रसाद पाण्डेका बुबा मुमालाल पाण्डेले डुबान पीडितपरिवारलाई वितरण गरिदिन रेडक्रस उपशाखा लालमटियाका सभापति गङ्गाराम भट्टराईलाई हस्तान्तरण गर्नुभयो ।
दुई हप्ताअगाडि आएको बाढीबाट देउखुरी क्षेत्रका विभिन्न गाविसका २०० भन्दा बढी घरपरिवार डुबानमा परेका थिए ।
प्रकाशित मिति:
July 31, 2012