नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले नेपालको कर्मचारीतन्त्र, गुप्तचर एजेन्सी, प्रहरी, सेना र दरबारमा समेत आफ्नो पकड जमाएपछि भारतले दरबार हत्याकाण्ड गराइएको दाबी गरेका छन्
नेपालका संवेदनशील निकायहरुलाई भारतले प्रभावमा पारेर राजदरवार हत्याकाण्ड गराएको उनको भनाई छ ।
राजधानीमा आज भएको एक कार्यक्रममा विजुक्छेले भने– ‘भारतले नेपालको गुप्तचर विभाग नकिनेको भए माओवादीहरु नेपालमा सफल हसदैन थिए ।’ भारतले गुप्तचर विभागलाई नियन्त्रणमा लिएपछि सिमाना, प्रहरी तथा कर्मचारी तन्त्रलाई पनि नियन्त्रणमा लिएको र अहिले राजनीतिक दलका केन्द्रीय सदस्यहरु सम्मलाई भारतले संञ्चालन गरिरहेको उनको जिकिर थियो ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराइ स्वयं नै भारतपरस्त भएको आरोप लगाउँदै उनले भारतीय गुप्तचरका प्रमुख तथा कर्मचारीलाई भेट्दै हिंड्ने नेपाली नेताहरुलाई देशद्रोहको मुद्दा लगाउनुपर्ने माग गरे ।
कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठले विगतमा गौचरण हवाईअड्डा बनाउन नेपाल आएको भारतीय सेना काम सकेर स्वदेश फर्कनुको सट्टा नेपालको उत्तरी सीमामा पुगेर १८ ठाउँमा पोष्ट खडा गरी बसेको स्मरण गरे । श्रेष्ठले अहिले पनि भारत त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल व्यवस्थापनको जिम्मा लिने बहानामा नेपालको सुरक्षा प्रणाली नै हातमा लिने दाउमा रहेको दाबी गरे ।
कार्यक्रमका अन्य वक्ताहरुले बर्तमान प्रधानमन्त्री भट्टराई भारतका सामु लम्पसार परेको आरोप लगाउँदै बाबुराम भट्टराइबाट मुलुकको सार्वभौमिकताको संरक्षण हुन नसक्ने बताएका थिए ।