खेमनाथ पौडेल, यूएई – प्रवास स्थित नेकपा एमालेको भातृसंगठन प्रवासी नेपाली संघ यूएईमा आवद्ध अधिकाशं जनजातीहरु नेकपा एमाले पार्टी त्याग गर्ने मनस्थितीमा पुगेका छन् ।
विशेष स्रोतले दिएको जानकारी अनुसार पार्टीले विगतको आठौँ राष्टिय महाधिवेशनमा पहिचान सहितको संघियतामा गईने छ भन्ने घोषणा गरेको साथै पार्टी अन्तर निर्देशिकामा पनि पटक पटक पहिचान सहितको संघियताको बारेमा पनि कोट गरेको तर संविधान सभाको अन्तिम समय जेष्ठ १४, २०६९ का दिन भने नेकपा एमालेले आफैले तय गरेको १४ प्रदेशमा पनि जान नमानेको, पहिचान सहितको संघियताबाट खुट्टा झिकेको हुनाले एमालेको भातृसंगठन प्रवासी नेपाली संघ यूएईमा रहेका जनजातीहरुले पार्टी त्याग्ने निर्णय गरेको थाहा हुन आएको छ ।
भर्खरै मात्र एमाले पार्टीले जनजाती नेताहरुलाई जिम्मेवारी पदबाट कार्वाही गरेको घटनाले यूएईका जनजातीहरुलाई पनि असर परेको थियो । नेपाली प्रवासी संघ यूएईको स्थापना कालदेखीनै सकृय रुपमा रहेका र अहिले सल्लाहकार रहेका भुवन राई लगायतका अन्य जनजाती सकृय पदाधिकारीहरुले प्रवासी नेपाली संघ छोड्ने निर्णय गरेको विशेष शुत्रबाट थाहा भएको छ ।
यूएईमा लामो समय विभिन्न संघ संस्था तथा पार्टीमा पनि विषेश भूमिका खेलीरहेका जनजातीहरुलाई प्रवासमा संगठन भित्र अहिलेसम्म खेलेको भूमिकालाई संगठनले पनि त्यति महत्व नदिएको जनजातीहरुको भनाई रहेको छ । नेपालमा जनजातीहरुले छुट्टै अर्को पार्टी खोल्ने हल्ला चलीरहेको अवस्थामा यूएईमा पनि त्यसको असर परेको हो की तर तत्कालै कुनै पनि पार्टीमा प्रवेश नभई स्वतन्त्र रहने यहाँका जनजातीहरुको विचार रहेको थाहा हुन आएको छ ।
छिट्टै नै यूएईमा एक पत्रकार सम्मेलन गरी जनजातीहरुले प्रवासी नेपाली संघ छोडेको खुलासा गर्ने पनि जानकारीमा आएको छ ।