क्रान्तिकारीहरु तोडफोडमा नै उत्रिएपछि उच्च माध्यमिकद्वारा वार्तामा आउन आह्वान
साउन १२ – नवगठित नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले नेपाली मौलिकतामा आधारित नाम राख्नुपर्ने, शिक्षाको नाममा व्यापार गर्न नहुने लगायतका माग राखेर तोडफोडमा समेत उत्रिएपछि उच्च माध्यमिक शिक्षा परिषद्ले वार्तामा बोलाएको छ ।
उच्च माध्यमिक शिक्षा परिषद्ले विभिन्न विद्यार्थी सङ्गठनलाई शैक्षिक समस्याको समाधानका लागि वार्ताको टेबुलमा आउन आफ्नो वार्ता टोली पठाउन आग्रह गरेको हो ।
परिषद्का प्रवक्ता नारायणप्रसाद कोइरालाले शैक्षिक माग प्रस्तुत गर्ने तथा आन्दोलनमा रहेका सबै प्रमुख विद्यार्थी सङ्गठनलाई वार्ताका लागि औपचारिक आग्रह गरिएको जानकारी दिए ।
उनले विद्यार्थी सङ्गठनले वार्ता टोलीको नाम पठाएपछि परिषद्ले शिक्षा मन्त्रालय र शिक्षा विभागसहितको वार्ता टोलीका लागि सिफारिस गर्ने जानकारी दिए ।
प्रमुख पार्टी निकटका विद्यार्थी सङ्गठनले उच्चमाविहरुको शुल्क, विज्ञापन, विदेशी नामलगायतका विषयमा माग राखी परिषद्मा घेराउलगायतका आन्दोलन गरिरहेका छन् । नेकपा–माओवादी निकटको विद्यार्थी सङ्गठनले विभिन्न शिक्षण संस्थामा भौतिक आक्रमणसमेत गरेको थियो ।
प्रकाशित मिति:
July 27, 2012