साउन १५ – विवादका बिच नै हिजो सरकारले मुख्य सचिवमा लिलामणी पौडेललाई नियुक्त गर्ने निर्णय गरेपछि त्यस विषयले सिंहदरबार नै तरंगित बनेको छ ।
आइतबारको मन्त्रीपरिषले कनिष्ठलाई मुख्यसचिव नियुक्ति गरेपछि बरिष्ठ सचिव शंकर कोइरालाले सोमबार राजिनामा दिए लगत्तै अन्य दुई सचिवले राजीनामा दिएका छन् ।
यसरी राजीनामा दिने सचिवमा प्रधानमन्त्री कार्यालयका सचिव त्रिलोचन उप्रेती र गृहसचिव सुशील जंगबहादुर राणा रहेका छन् । मुख्य सचिव नियुक्तिका विषयमा असन्तुष्टि जनाउँदै निर्वाचन आयोगका सचिव शंकर कोइरालाले आज राजिनामा दिए लगत्तै उप्रेती र राणाले राजिनामा दिएका हुन । सरकारले १३ जनामध्ये बरिष्ठ सचिव कोइरालाई छोडेर आइतबार आठौँ स्थानमा रहेका सचिव लीलामणि पौडेललाई कामुसचिवमा नियुक्ति गरेको थियो ।
सरकारले बरिष्ठतालाई वेवस्था गर्दै हिजो बसेको मन्त्रीपरिषद बैठकमा प्रधानमन्त्रीले प्रस्ताव गरेको भन्दै सचिव लिलामणि पौडेललाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारको हिजोको निर्णय प्रति असन्तुष्टि जनाउँदै आज कोइरालाले प्रधानमन्त्री कार्यालयमा राजीनामा पत्र बुझाएका हुन । कोइराला सँगै उप्रेती र राणाले निजामति एनेको दफा १९ मा बहालवाल सचिवमध्ये ज्येष्ठता र कार्यकुशलताको आधारमा मुख्यसचिवमा बढुवा हुनुपर्ने नियम हुँदा हुँदै पनि बरिष्ठलाई मुख्यसचिव नबनाएर कनिष्ठलाई बनाएको भन्दै राजिनामा दिएका हुन ।
सरकारले हिजो मुख्य सचिव नियुक्त गरेपछि असन्तुष्टि व्यक्त गर्दै आएका सचिवले आज कार्यालय पुगेर राजीनामा दिने घोषणा गरेका हुन । गृहका सचिव राणाले कर्मचारीलाई आफू बिदा बसेको नभइ राजीनामा दिएको बताउँदै बाहिर निस्किएका थिए । राणाले आफ्नो कार्यकालमा सहयोग गर्ने सबै कर्मचारीलाई धन्यवाद दिदै कार्यालयबाट निस्किएका थिए । अर्का सचिव उप्रेतीले भने प्रधानमन्त्रीसँग भेटेर असन्तुष्टि व्यक्त गर्दै राजीनामा दिएका हुन ।
कोइरालाको राजिनामा आएसँगै मुख्य सचिवका लागि प्रतिस्पर्धी अन्य ६ जना सचिव समेत राजिनामाको तयारीमा रहेको बताइए लगत्तै दुईजनाले राजिनामा दिएका हुन ।
मन्त्रीपरिषदको बैठकमा मधेसी दलबाट प्रतिनिधित्व गर्ने मन्त्रीको दबाबका बिचमा प्रधानमन्त्रीले आफ्नो प्रस्तावलाई पारित गरेको प्रति नेताहरुले आपत्ति जनाउँदै आएका थिए ।
सरकारले मुख्य सचिव माधव प्रसाद घिमिरेको पदावधि साउन २२ गते सकिने भएपछि हिजो कायमुकायम सचिवका रुपमा पौडेललाई नियुक्ति दिएको हो । पौडेलले मुख्य सचिवको जिम्मेवारी साउन २२ गतेबाट सम्हाल्ने छन् । माधव घिमिरेको मुख्य सचिवको कार्यवधि सकिने भएपछि साउन २१ सम्मको लागि पौडेलले कायमुकायमका रुपमा मुख्यसचिवको काम गर्ने जिम्मेवारी तोकिएको सरकारले बताएको छ । हिजोको मन्त्रीपरिषद् बैठकमा मधेसवादी दलबाट सरकारमा प्रतिनिधित्व गर्ने नेताले मुख्यसचिवको नियुक्तिको लागि बरिष्ठतालाई ख्याल गर्नुपर्ने विषयमा जोड दिएको भए पनि प्रधानमन्त्रीले एकलौटी निर्णयलाई अगाडि बढाएको आरोप लगाएको छ । वरिष्ठ सचिव शंकर कोइरालाको नाममा सहमति गर्न मधेवादी दलका मन्त्रीले प्रस्ताव गरेका थिए तर कोइरालालाई प्रधानमन्त्रीले अस्वीकार गरेपछि विवाद चर्किएको हो । मधेसी मोर्चाले वरिष्ठ सचिवलाई मुख्य सचिव नबनाउँने भए मधेसी, आदिवासी, जनजाति वा महिला सचिव राख्नुपर्ने प्रस्ताव अघि सारेको थियो ।