साउन ८ – एमाओवादीका उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वाधिनतामा असर पार्ने सबै सन्धी सम्झौता सच्याउनुपर्ने बताउँदै बिप्पा सम्झौता हुँदा ठूलो मतभेद भएको खुलासा गरेका छन् ।
राजधानीमा आज आयोजित साक्षात्कार कार्यक्रममा उनले भारत र नेपालबीचको बिप्पा सम्झौता हुँदा गम्भीर मतभेद रहेको खुलासा गरेका हुन् ।
पार्टी भित्र र सरकारभित्र पनि आफू र प्रधानमन्त्रीबीच गम्भीर मतभेद रहेको उनको भनाई छ । कार्यक्रममा उनले बिप्पा सम्झौताको विषयमा आफूले मन्त्री परिषदको बैठक र भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँगको दुई पक्षीय वार्तामा समेत असहमति जनाएको बताए ।
कार्यक्रममा उनले जुन जुन निर्णय र नीतिले राष्ट्रिय स्वाधीनतामा असर परेको छ त्यसलाई सच्याउन आवश्यक रहेको बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले पार्टीभित्र राष्ट्रिय स्वाधिनतालाई हेर्ने स्पष्ट धारणाको अभावमा विप्पा लगायतका राष्ट्रिय स्वाधिनता विरोधी सम्झौता भएको भन्दै राष्ट्रिय स्वाधिनताको पक्षमा उभिनु कुनै पनि छिमेकी मुलुकको विपक्षामा उभिएको नठहरिने उल्लेख गरे ।
सोही कार्यक्रममा उनले सरकारले मंसिर ७ गतेको लागि घोषणा गरेको संविधान सभाको निर्वाचनको दलहरुबीच सहमति अनिवार्य भएको भन्दै उनले सहमति बिना निर्वाचन हुनै नसक्ने पनि बताएका छन् ।