साउन १५ – नेपाली कांग्रेस भित्रको विवाद अन्त्य भएको घोषणा गरिएको हल्ला सेलाउन नपाउँदै फेरि कांग्रेसभित्र विवाद चर्किएर गएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पक्षधरले हिजो पार्टीको विधि र शीर्ष नेताहरूबीचको सहमतिबिना नै सभापतिले विभाग गठन गरेकोमा आपत्ति समेत जनाएको छ ।
देउवानिवास बुढानीलकण्ठमा आज बसेको देउवा पक्षधर केन्द्रीय सदस्यहरूको बैठकले पार्टी सभापति सुशील कोइरालाले पूर्वसहमति अनुसार विभाग गठन गर्ने र जिम्मेवारी सुम्पने विधिलाई उल्लङ्घन गरेको निष्कर्ष निकाल्यो ।
बैठकमा नेता देउवाले सभापति कोइरालाले आफूलाई पटकपटक धोका दिएको र विभाग गठन गर्नका लागि विगतमा भएको सहमतिविपरीत आफूसँग छलफल नै नगरी जिम्मेवारी सुम्पिएकोमा आपत्ति जनाएका थिए ।
“यसअघि पनि भ्रातृसंस्था विघटन गर्दा मसँग कुनै छलफल नै भएन, अहिले पनि सहमतिमै विभाग गठन गर्ने र जिम्मेवारी तोक्ने भन्ने विषयलाई सभापति कोइरालाले लत्याउनुभएको छ,” नेता देउवाको भनाई उद्धृत गर्दै सदस्य डा महतले सञ्चारकर्मीहरुसँग भनेका थिए– “यस विषयमा जिल्ला सभापतिहरूको भेला सकिएपछि कुरा हुने छ ।”
देउवानिकट करिब २७ जना केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको सो बैठकले विभाग गठन र जिम्मेवारी हेरफेरमा पार्टी सभापति कोइरालाद्वारा भएको एकलौटीका बारेमा ठोसरूपमा छलफल गर्ने निष्कर्ष निकालेको छ ।
बैठकमा सिन्धुपाल्चोकमा हुने पार्टीका जिल्ला सभापतिहरूको भेलामा के के मुद्दा उठाउने र वर्तमान राजनीतिक सङ्कट अन्त्यका लागि कस्तो निष्कर्षमा पुग्ने भन्ने विषयमासमेत छलफल भएको बताइएको छ ।
यसो हुँदा अब फेरि पनि कांग्रेसभित्र विवादको आगो सल्केर जाने निश्चित छ ।