अमेरिकामा 1 Thousand $ राशी पुरस्कारको अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता हुने
राम प्रसाद खनाल, अमेरिका - अन्तर्राष्ट्रिय कलाकार मञ्च केन्द्रीय समिति अमेरिकाको आयोजनामा विश्वमै पहिलो पटक नयाँ ढंगबाट अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता हुने भएको छ ।
संसारका जुन सुकै देशबाट, जुन सुकै उमेरका, जुन सुकै प्रतिभाहरुले उक्त प्रतियोगितामा भाग लिन पाउने ब्यबस्था गरिएको छ । नेपाली वा अङग्रेजी भाषाका गीतहरुमा वा संसारको जुनसुकै देशको जुनसुकै भाषाको म्युजिकमा जो कसैले पनि नृत्य प्रतियोगितामा भाग लिन पाउने उक्त अन्तर्राष्ट्रिय नृत्य प्रतियोगितामा प्रथम हुनेलाई अमेरिकी डलर एक हजार पुरस्कार प्रदान गरिने भएको छ ।
प्रतियोगितामा सहभागी हुन कम्तिमा दुई मिनेट र बढीमा ६ मिनेट सम्मको नृत्य हुनुपर्ने, एक जनाको एकल वा बढीमा २० जना सम्मको ग्रुप नृत्यलाई प्रतियोगितामा समाबेश गरिने मञ्चले स्पस्ट पारेको छ ।
प्रतियोगिता मुल्यांकनका लागि कला क्षेत्रका विशिष्ट हस्तिहरुलाई निर्णायक राखिएको छ । अन्तर्राष्ट्रिय कलाकार मञ्चका सल्लाहकार एवं प्रसिद्ध नायक सरोज खनाल, मञ्चका केन्द्रीय सदस्य एवं चर्चित नायिका गौरी मल्ल, मञ्चकी उपाध्यक्ष एवं नायिका जल शाह, महा सचिव एवं लोकप्रिय नायक रमेश उप्रेती, मञ्चका केन्द्रीय सदस्य एवं नृत्यमा माहिर नायिकाहरु सारङ्गा श्रेष्ठ र अनुपमा प्रसाई, चलचित्र क्षेत्रका धेरै नायक नायिकालाई नृत्य निर्देशन गरेका बरिष्ठ नृत्य निर्देशक, नृत्यकार, मञ्चका केन्द्रीय सदस्य नबिन केसी, अन्तर्राष्ट्रिय रुपमै नृत्यमा ख्याती कमाएका नृत्य नायकहरु मञ्चका केन्द्रीय सदस्य श्याम खड्की र यज्ञमान शाक्य, सचिव एवं गीतकार प्रकाश नेपाल रहेका छन् । त्यसै गरी मञ्चका सल्लाहकार बरिष्ठ लोक गायक, अमेरिकाका लागि महा बाणिज्यदूत प्रेम राजा महत रहेका छन् ।
यो प्रतियोगिता संसार भरी रहेका नेपाली र अन्य कलाकार र लुकेका प्रतिभाहरुलाई समेत कोशेढुंगा साबित हुने कुरामा मञ्च पूर्ण रुपमा आशाबादी छ भन्दै अध्यक्ष खनालले यो प्रतियोगिता सफल पार्न संसारका २५ भन्दा बढी देशमा स्थापित मञ्चका शाखा महाशाखा सबै सक्रिय भएर लाग्ने बताए ।
विश्वमै पहिलो पटक आयोजना गर्न लागिएको यस प्रकार को नौलो र पहिलो कार्यक्रम हो । मञ्चका सल्लाहकार, बरिष्ठ लोक गायक, अमेरिकाका लागि महा बाणिज्यदूत प्रेम राजा महतले यो साह्रै राम्रो कदम भएको बताए ।
प्रतियोगितामा समावेश हुन इच्छुक व्यक्ति वा समुहले सेप्टेम्बर ३० तारिख भित्रमा आफुले नृत्य गरेको भिडियो यु ट्युब (Youtube) मा अपलोडगरी भिडियोको लिंक (एउटै सर्टमा खिचिएको हुनुपर्ने, एडिट गर्न वा जोड जाड गर्न नपाईने) मञ्चको ईमेल Internationalartistsforum@gmail.com ,IafAmerica@gmail.com मा पठाउनुपर्ने, जुन सुकै क्यामराले खिचिएको भए पनि हुने तर भिडियोमा नृत्य हाउभाउ सबै प्रस्ट देखिने गरी खिचिएको हुनुपर्ने मञ्चले स्पष्ट पारेको छ ।
निर्णायकहरुले भिडियोको आधारमा मुल्याङ्कन गरी निर्णय सार्वजनिक गर्ने र प्रथम, द्वितिय र तृतिय हुने व्यक्ति वा समुहलाई अमेरिकाको वाशिङ्टन डिसीमा एक कार्यक्रमा आयोजना गरी अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माको हातबाट पुरस्कार प्रदान तथा सम्मान गरिने छ ।
संसार भरका जो सुकै पनि समाबेश हुन सकुन भनेर यस किसिमको प्रतियोगिता पहिलो पटक गर्न लागिएको र प्रतियोगितामा भाग लिन कोही पनि बन्चित नहुने आयोजक अन्तर्राष्ट्रिय कलाकार मञ्चको विश्वाश छ । मञ्चको केन्द्रीय समितिमा रहेका पदाधिकारी, सदस्य, निर्णयकहरु र तिनका छोरा छोरी बाहेक अरु जो सुकैले पनि प्रतियोगितामा भाग लिन पाउने छन ।
कार्यक्रम सम्बन्धी थप जानकारीका लागि अन्तर्राष्ट्रिय कलाकार मञ्चको वेब साइट www.IAFAmerica.com भिजिट गर्न सक्नु हुनेछ ।
प्रकाशित मिति:
August 16, 2012