साउन २९ – प्रधानमन्त्री डा बाबुराम भट्टराई र नेपाल भ्रमणमा रहेकी चिनिया उपमन्त्री फु लिङबीच आज भएको भेटवार्तामा लिङले पश्चिम सेती जलविद्युत आयोजना र अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा सघाउने प्रतिवद्धता जनाएकी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिहंदरबारमा भएको शिष्टाचार भेटवार्तामा उनीहरुबीच देशको पछिल्लो राजनीतिक अवस्थाका साथै समसायिक विषयमा कुराकानी समेत भएको थियो । आपसी हित र द्विपक्षीय सम्बन्धका विषयका विषयमा पनि छलफल भएको जनाइएको छ ।
लिङ नेपाल–चीन परराष्ट्र सचिवस्तरीय परामर्श संयन्त्रको नवौं बैठकमा भाग लिन नेपाल आएकी हुन् ।
उपमन्त्री लिङले गत जनवरीको दोस्रो साता चीनका प्रधानमन्त्री वेन जियाबाओको नेपाल भ्रमणका क्रममा गरेको सहमतिअनुसार नेपालको आर्थिक र पूर्वाधार विकासमा आफूहरूले प्राथमिकता दिने अवगत गराएको बताइएको छ ।
भेटका क्रममा उपमन्त्री लिङले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना, पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा सघाउने विश्वास दिलाएकी हुन् ।
यता, प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने नेपालको भूमिलाई चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन् ।