गोरखा बैंकका तत्कालीन कर्जा प्रमुख प्रहरी नियन्त्रणमा
काठमाडौँ, ११ भदौ । गोरखा डेभलपमेन्ट बैंकका कर्जा प्रमुख दीपक रानामगर पक्राउ परेका छन् ।
बैंकका कर्जा प्रमुखको हैसियतमा रही अनियमित एवं गैरकानुनी तवरले ऋण लिने दिने कार्यमा संलग्न बैंकका रानामगरलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले वनस्थली चोकबाट पक्राउ गरेको हो ।
रानामगर समेतको मिलोमतोमा मुना हाउजिङ एण्ड डेभलपमेन्ट कम्पनी र लुम्बिनी ईन्फ्रास्ट्रक्चर डेभलपमेन्टलाई कर्जा प्रवाह गर्दा बैंक ठग्ने नियतले नक्कली कागजात खडा गरी कमसल जग्गाको बढी मूल्याङ्कन गराई कर्जा लिने दिने कार्यमा संलग्न रहेको प्रहरीको दाबी छ ।
सो कार्यबाट बैंकलाई रु ११ करोड ६ लाख १८ हजार बराबरको नोक्सानी पुगेको छ । प्रहरी अनुसन्धानले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ७, ८, १३ र १४ बमोजिमको कसुरमा श्री रानामगर संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको देखाएको छ ।
अभियुक्तलाई आवश्यक अनुसन्धान तथा थप कानुनी कारवाहीको लागि महानगरीय प्रहरी परिसर हनुमानढोका पठाइएको पनि प्रहरीले जनाएको छ ।
Watch Video
प्रकाशित मिति:
August 27, 2012