भदौ ६ – सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहरिएका पूर्वमन्त्री एवम् नेपाली काँगे्रस नेता खुमबहादुर खड्का आजदेखि जेलको हावा खान पुगेका छन् । अब उनले ११ महिनासम्म जेलको हावा खानुपर्ने भएको छ ।
जेल जानु अघि काठमाडौँ जिल्ला अदालतमा आफै उपस्थित भई उनले धरौटीवापत रु ७५ लाख ८९ हजार रुपियाँ नगद बुझाएका थिए । त्यसमा उनले रु १८ लाख ९४ हजार छुट पाए । जिल्ला अदालतमा कानुन व्यवसायी र केही सहयोगीकासाथ दिउँसो २:१५ बजे उनी पुगेका थिए ।
खड्कालाई गत साउन ३० गते सर्वोच्च अदालतले डेढ वर्ष कैद र रु. ९४ लाख ७४ हजार १२२ जरिवाना र सोही बराबरको बिगो बुझाउनुपर्ने फैसला गरेको थियो ।
खड्काले अदालतमा आफू भ्रष्टचारी भन्दा पनि एउटा असल कर्मठ भएको जस्तो भान गरिहेका थिए । अदालत परिसरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वमन्त्री खड्काले आफूमाथि अन्याय भएको र सुनियोजितरुपमा फसाइएको भन्दै चोखिने प्रयास गरिरहेका थिए ।
“सर्वोच्चको फैसलामा मेरो विमत्ति रहे पनि कानुनी राजलाई सम्मान गर्छु,” धरौटी बुझाएर बाहिर निस्कने क्रममा उनले भने, “मलाई अन्याय भएको छ, विद्धान दुईजना मित्रहरुले सुनियोजितरुपमा फैसला गरे ।”
खड्काका शुभेच्छुकहरुले प्रदर्शन गर्ने आशङ्कामा प्रहरीले अदालत परिसरमा उच्च सुरक्षा सतर्कता अपनाएको थियो । खड्का पुगेपछि अदालत प्रवेश गर्ने मूलढोका नै बन्द गरिएको थियो ।
त्यसो त भ्रष्टचारी खड्काले कैद सजायमा पनि २० प्रतिशत छुट पाएका छन् ।
अदालतबाट फैसला भएको ६० दिनभित्र अभियुक्त स्वयम् उपस्थित भए २० प्रतिशत सजाय माफी हुने कानुनी व्यवस्था रहेको छ ।
सर्वोच्चका न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले खड्कालाई भ्रष्टाचार गरेको अभियोगमा सजाय सुनाएको थियो ।
खड्काले अब एक वर्ष दुई महिना नौ दिनमात्रै कारागार बस्नुपर्नेछ । उनी विसं २०७० कात्तिक १४ गते कारागारमुक्त हुनेछन् ।
यो पनि पढ्नुहोस
भ्रष्टचारी खड्काले झोलामा ७५ लाख लिएर अदालत गए, अनि जेल पवित्र घर हो भन्दै पसे (भिडियोमा)