भदौ ६- नेपाली काँग्रेसको भागिनी सङ्गठन नेपाल महिला सङ्घ नुवाकोटको सङ्गठन सुदृढीकरण अन्तर्क्रिया सम्बन्धी बिदुरमा भएको कार्यक्रममा संस्थापन काँग्रेस र देउवा पक्षका काँग्रेस कार्यकर्ताबीच झडप भएको छ।
नेपाल महिला सङ्घको जिल्ला अध्यक्ष बिन्दा अर्यालको अध्यक्षतामा कार्यक्रम भएपछि प्रजातान्त्रिक काँग्रेस हुँदाको महिला सङ्घको अध्यक्ष कल्पना नेपालीले 'आफ्नो भूमिका' को बारेमा प्रश्न गरेपछि विवाद उठेको हो।
मन्तव्य राख्नेक्रममा जिल्ला सभापति जगदीश नरसिंह केसीले उत्तेजित शैलीमा महिला सङ्घको विवाद केन्द्रबाट आएको भन्दै केन्द्रीय सदस्य प्रकाशशरण महत, सङ्घकी केन्द्रीय अध्यक्ष डा. डिला सङ्ग्रौलालगायतमाथि घुमाउलो शैलीमा बोलेपछि विवाद चर्किएको थियो।
सभापति केसीले बोल्दै गर्दा बहादुरसिंह लामाले विरोध गर्दै आएर कुर्सी फाल्दै मङ्गलादेवी सिंहको तस्वीरसमेत फोडिदिएका थिए। लामाले विरोध गर्न थालेपछि महत पक्ष भनी चिनिएकाहरू एक स्वरमा केसी पक्षको विरोधमा उत्रिए।
यता केसी पक्ष कार्यकर्ताहरूले भने 'गुण्डागर्दी बन्द गर' भन्दै नाराबाजी गरेका थिए।
विवादमा हात हालाहालको अवस्था आएपछि सङ्घकी केन्द्रीय अध्यक्ष सङ्ग्रौलाले कार्यक्रम स्थगित भएको भन्दै आफ्ना सहकर्मीसहित बाहिरिएकी थिइन्।
विवाद साम्य बनाउन केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी बोल्न खोज्दा महत पक्षले विरोध गरी बोल्न दिएनन् भने केन्द्रीय सदस्य महत भने केही नबोली आफ्ना कार्यकर्ता लिएर निस्किए।
घटनाले दुःखी बनाएको भन्दै केन्द्रीय अध्यक्ष सङ्ग्रौलाले जिल्लामा केही संयोजन बिग्रिएको भन्दै आफूहरू कुनै गुटबन्दी गर्न जिल्लामा नआएको बताइन्। रासस