साउन २८ – गत जुलाई २७ तारीखबाट सुरु भएको लण्डन ओलम्पिक २०१२ को आज औपचारिक बिदाई हुँदैछ ।
लण्डन ओलम्पिक २०१२ मा प्रतियोगिताको सुरुबाट पदक तालिकामा चीन अग्रस्थानमा हावी हुँदै आएपनि पछिल्लो समय अमेरिकाले एक स्टेप पछि धकेलिदिएको छ ।
त्यसैले ओलम्पिक एक दिन मात्रै बाँकी छँदा पदक तालिकामा भने अमेरीका ४४ स्वर्ण पदकसहित शिर्ष स्थानमा छ ।
दोस्रो स्थानको चीनको ३८ स्वर्ण पदक छ भने २८ स्वर्ण पदक जितेको बेलायत तेस्रो स्थानमा छ । चोथौं स्थानको रुसको २१ स्वर्ण पदक छ भने १३ स्वर्ण पदकको साथ दक्षिण कोरीया पाँचौ स्थानमा छ ।
४ वर्ष अघि वेईजिङमा आयोजक चीनलाई उपाधि सुम्पदै दोस्रो स्थानमा चित्त बुझाएको अमेरिका लन्डन ओलम्पिक मार्फत फेरि विश्व खेलकुदमा आफ्नो वर्चश्व जोगाउन सफल भएको हो ।
लन्डन ओलम्पिकमा एशियाली राष्ट्रहरुतर्फ चीन शिर्ष स्थानमा रह्यो भने दोस्रो स्थानमा दक्षिण कोरिया रह्यो । जापान भने ६ स्वर्ण पदक जित्दै तेस्रो स्थानमा रह्यो भने काजखस्तान पनि ६ स्वर्ण पदकको साथ चोथौ स्थानमा रह्यो । चारवटा स्वर्ण पदक जितेको ईरान लन्डन ओलम्पिकमा सहभागी एशियाली राष्ट्रहरुको मात्रै पदक तालिकामा पाँचौ स्थानमा रह्यो ।
यता दक्षिण एशियाली राष्ट्रहरुतर्फ ओलम्पिकमा भारतले सबैभन्दा धेरै ५ वटा पदक जित्यो । भारतले एउटा रजत तथा ४ वटा कास्य पदक जितेको हो भने अफगानिस्तानले एउटा कास्य पदक जित्यो । भारत र अफगानिस्तानबाहेक अरु कुनै दक्षिण एशियाली राष्ट्रले ओलम्पिकमा पदक जित्न सकेनन् ।