अत्यावश्यक भए मात्र अध्यादेश ल्याउँनुहोस्, अध्यादेशमै मुलुक नचलाउनुहोस् : राष्ट्रपति
भदौ, १४- राष्ट्रपति डा. रामवरण यादवले सरकारलाई पटक पटक अध्यादेश नल्याउँन सुझाव दिएका छन् । दुई अध्यादेश अस्वीकृत भएका बेला सरकारले थप अध्यादेश ल्याएको प्रति असन्तुष्टि व्यक्त गदै बिहिबार यादवले अत्यावश्यक परेमा मात्र अध्यादेश ल्याउँन सुझाव दिएका हुन ।
केही समय अघि सरकारले राष्ट्रपति समक्ष पेश गरेका निर्वाचन सम्बन्धी दुई अध्यादेश राष्ट्रपति कार्यालयले फिर्ता पठाए पनि सरकारले पुन तीन अध्यादेश पठाएपछि राष्ट्रपतिले आपत्ति जनाएका हुन् । बिहिबार शीतल निवासमा शीर्ष नेतालाई बोलाएर यादवले अध्यादेशबाट मुलुक नचलाउन सुझाव दिदै भनेका छन् । ‘अध्यादेश ल्याउनुअघि सहमति गर्नुहोस् ।’ कार्यवहक प्रधानमन्त्री विजयकुमार गच्छदारले राष्ट्रपतिसँगको भेटपछि राष्ट्रपति यादवले नभै नहुने अत्यावश्यक छ भने मात्र अध्यादेश ल्याउन सुझाव दिएको बताएका छन् । राष्ट्रपति यादवले सरकारले मंगलबार राष्ट्रपतिसमक्ष प्रस्तुत गरेका अध्यादेश प्रति असन्तुष्टि व्यक्त गरेका हुन ।
राष्ट्रपति कार्यालयले सरकारले मंगलबार राष्ट्रपति समक्ष प्रस्तुत गरेका अध्यादेशको अध्ययान गरिरहेको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले दिएको जानकारी अनुसार अध्यादेशका विषयमा कार्यालयले अध्ययान गरेर मात्र यस विषयमा काम गर्ने बताएका छन् । राष्ट्रपति निवास पुगेका राजनीतिक दलका शीर्ष नेतालाई राष्ट्रपतिले राजनीतिक निकासको विकल्पका विषयमा छलफल गर्न आग्रह समेत गरेका छन् ।
यादवले सरकारले सहमतिका आधारमा सबै दलसँग सहकार्य गर्ने भन्दा पनि अध्यादेशमार्फत एकलौटी सत्ता सञ्चालन गर्न लागेको प्रति आपत्ति जनाउँदै तत्काल नयाँ राजनीतिक निकासको मार्ग चित्र तयार गर्न सम्मपूर्ण शीर्ष नेतालाई आग्रह गरेका हुन । यादवले नयाँ निर्वाचन अथवा संविधान सभालाई पुनस्थापना के गर्ने भन्ने विषयमा राजनीतिक दलले तत्तकाल सहमति तयार गर्नु पर्र्नेमा जोड दिएका छन् ।
राष्ट्रपति निवासमा भएको राजनीतिक छलफलका लागि यादवले कार्यवहक प्रधानमन्त्री गच्छदार, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति सुशील कोइराला, उप सभापति रामचन्द्र पौडेल, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल लगायतका शीर्ष नेतालाई शीतल निवासमा बोलाएका थिए ।
प्रकाशित मिति:
August 30, 2012