भदौ ५ – पछिल्लो समयमा राजनीतिक दलहरु तथा तिनका कार्यकर्ताहरुले सत्ता र कुर्सीको माग राखेर सर्वसाधरणलाई सास्ती दिने कार्य बढाएर गएका छन् ।
उनीहरुले राजनीतिक संक्रमणकाललाई सहमतिको आधारमा टुंग्याउनको सट्टा कहिले जिल्ला बन्द गर्ने त कहिले राजमार्ग बन्द गर्ने गरेर सर्वसाधरणलाई हैरानी दिने कार्य बढाएका हुन् ।
पछिल्लो पटकको यसको उदाहरणका रुपमा लिने हो भने आजको प्युठान बन्द उदाहरण काफी छ ।
वर्तमान कामचलाउ सरकारले तत्काल राजीनामा दिनुपर्ने माग गर्दै नेपाली कांग्रेसको युवा सङ्गठन तरुण दलले आज प्युठान बन्द गरेको हो ।
उक्त बन्दको खबर सरकार समक्ष त पुग्ला नै तर उक्त बन्दकै कारण हुनेवाला भने केही पनि देखिदैन । त्यही पनि राजनीतिक दलहरु तथा तिनका कार्यकर्ताहरु यस्ता कार्यलाई महत्व दिने गरेका छन् ।
त्यहाँ बन्दका कारण सार्वजनिक सवारीसाधन चलेका छैनन् भने बजार आङ्शिक रूपमा खुलेका छन् ।
कामचलाउ सरकार भएर पनि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पदको दुरुपयोग गर्दै अध्यादेशमार्फत देश चलाउन खोजेको विरोधमा प्युठान बन्दको आह्वान गरेको तरुण दलका कार्यवाहक अध्यक्ष माधव भण्डारीले बताए ।
यता, बन्दकर्ताहरुलाई सहमतिको बाटोबाट पनि जनतालाई दुःख नदिई निकास निकाल्न सकिन्छ भन्ने कुराको भने कमै महसुस भएको ठान्न सकिन्छ ।
त्यहाँ तरुण दल र नेविसङ्घका कार्यकर्ता बिहानैदेखि बजार क्षेत्र र शैक्षिक संस्था बन्द गराउँदै हिँडेका छन् ।
बन्दका कारण बिहानी कक्षामा सञ्चालन हुने क्याम्पस तथा उच्च माविका विद्यार्थी सबैभन्दा बढी मारमा परेका छन् ।
विश्लेषकहरु भने यसरी कहिले कालो झण्डा देखाउने त कहिले राजमार्ग या त ठाउँ ठाउँमा बन्द हडताल गरेर भन्दा पनि सहमतिको बाटोबाट निकास निकाल्न दलहरु केन्द्रित भएमा त्यो नै हितकारी हुने ठान्दछन् ।