के के गुनासो गरे त प्रधानमन्त्रीले सर्वदलिय बैठकमा ?
साउन २१ – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सर्वदलिय सहमति भए तत्काल पद छाड्न आफू तयार रहेको भन्दै आफूलाई एकछिन पनि पदमा बस्ने रहर नभएको बताएका छन् ।
राष्ट्रपति डा. रामवरण यादवले आज बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले यस्तो उल्लेख गर्दै दलहरुसामु पटक पटक थुप्रै गुनासो समेत गरेका छन् ।
सर्वदलिय बैठकमा उनले दलहरुबीच सहमति नभई पद छाड्दा मुलुक झन् संकटमा फस्ने भन्दै उनले सहमति भएलगत्तै पद छाड्ने बताएको बैठकपछि माले महासचिव सीपी मैनालीले बताए ।
बैठकमा प्रधानमन्त्रीले पटक पटक आफूलाई सहज रुपमा काम गर्न नदिएको गुनासो गरेका थिए । प्रधानमन्त्रीले बैठकमा आफ्नै दलबाट समेत काम गर्न अवरोध भएको भन्दै अवरोधका बाबजुद पनि ठूलो मूल्य चुकाएर शान्ति प्रक्रिया पूरा गरेको तर दलहरुले संविधान निर्माणमा भने असहयोग गरेको गुनासो गरे ।
बैठकमा प्रधानमन्त्रीले संविधान जारी गर्ने देखि संविधानसभाको म्याद थपका लागि संविधान संशोधन गर्न र सरकारले घोषणा गरेको चुनाव गर्न समेत असहयोग भएको आक्रोश पोखेका थिए ।
प्रकाशित मिति:
August 05, 2012