साउन ३१ – केही दिन मात्रै अघि नेकपा माओवादीले गरेको गोलमेच अन्तरक्रिया कार्यक्रममा मैदानमै लड्न तयार रहेकोसम्मको चेतावनी दिएका एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन निर्माण भएको छ ।
सत्ताको बागडोर सम्हालिरहेका राजनीतिक दलहरु र केही साना दल सम्मिलित दलहरुले पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान निर्माणका लागि दबाब दिने उद्देश्यले आज ‘सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’ सार्वजनिक गरेको बताएका छन् ।
गठबन्धन सार्वजनिक गर्दै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन कसैका विरुद्ध नभई राजनीतिक गतिरोध अन्त्य र सहमति कायम गरेर अगाडि बढ्ने दिशामा केन्द्रित रहने धारणा व्यक्त गरे ।
त्यति मात्रै होइन, पत्रकारका सामु प्रचण्डले गिरिजा बाबुले आफूलाई नेतृत्व छाडेर गएको र कांग्रेस सभापति सुशिल कोइरालाको गैरजिम्मेवारीपनाको कारण गठबन्धन निर्माण हुन पुगेकामा जोड दिए ।
उनले यस्तो चेतावनी दिइरहँदा पत्रकार सम्मेलनमा गठबन्धनबाट नडराउन र नतर्सन सबै राजनीतिक दललाई आग्रह पनि गरिरहेका थिए । मुलुकमा विद्यमान राजनीतिक गतिरोध तोड्नका लागि वर्तमान गठबन्धन बनाइएको उनको जिकिर थियो ।
प्रचण्डले गठबन्धनमा राजनीतिक दलका साथै नागरिक समाजका अगुवा, अन्य क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरु पनि सहभागी हुने विश्वास व्यक्त गरे ।
देशको राजनीतिक अवस्था झन् झन् गिरिदैँ गएको अवस्थामा सरकार समर्थित दलहरुद्वारा पनि यसरी गठबन्धन तयार हुनुले ठूलै शंका र उपशंकाहरु भने उब्जाएको छ ।
पटक पटक दलहरु छलफलमा बसेपनि सहमति नजुट्नुले अब देश कता जान्छ भन्ने अन्यौलतामा यो गठबन्धन निर्माण हुनुले अब प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सहजै राजीनामा दिने कुनै संकेत छैन ।
हुन त भट्टराईले सहमति जुटे एक मिनेट पनि कुर्सीमा बस्ने रहर नभएको बताउँदै आएका छन् । तर विपक्षीहरु एउटा गठबन्धनमा बाँधिनु र सरकार पक्षहरु अर्को मोर्चा तयार गर्नुले तत्काल देशले निकास पाउँछ भन्न सकिने अवस्था छैन ।
जानकारहरुका अनुसार यो गठबन्धनको उद्देश्य भनेको नयाँ निर्वाचन गराउनुसम्मको रहेको छ । दलहरुबीच सहमतिको बिन्दु टाढिएपछि विपक्षीको सामनामा सहजताका लागि पनि यो गठबन्धन बनेको हो । यसो हो भने, तत्काल देशले निकास पाउने सम्भावना भने टर्दै गएको हो कि भन्ने शंका पनि उब्जिन थालेका छन् ।
यता, आज अध्यक्ष प्रचण्डको संयोजकत्वमा गठित ‘सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’ मा सत्तारुढ र कामचलाउ सरकारलाई समर्थन गर्ने दललगायत अन्य साना दलसहितका २१ दलका अध्यक्षलाई सदस्यको जिम्मेवारी दिइएको छ ।
गठबन्धनमा एनेकपा (माओवादी), मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), तराई मधेस लोकतान्त्रिक पार्टी, तराई मधेस तोकतान्त्रिक पार्टी नेपाल, चुरेभावर राष्ट्रिय एकता पार्टी, नेपाः राष्ट्रिय पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, सङ्घीय सद्भावना पार्टी, दलित जनजाति पार्टी, नेपाल परिवार दल, नेपाल लोकतान्त्रिक प्रजातान्त्रिक समाजवादी दल, नव नेपाल निर्माण पार्टी, सद्भावना पार्टी, नेकपा (माले–समाजवादी), सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), समाजवादी जनता पार्टी, जनता दल (युनाइटेड), नेपाल सद्भावना पार्टी, नेपाली जनता दल र स्वतन्त्र पूर्वसभासद् सदरुल मियाँ हक सम्मिलित छन् ।