मिनिरल वाटरमा किरा
भदौ १४ (रासस) – डडेल्धुराको मित्र मिनिरल वाटर एन्ड बेवरेज इन्डष्ट्रीज कम्पनी डडेल्धुराले उत्पादन गरेको उग्रतारा नामक मिनिरल वाटरको बोतलमा किरा भेटिएको छ ।
डडेल्धुरा सदरमुकामबाट झण्डै सात किलोमिटर टाढा तडीवाटा भन्ने स्थानमा कम्पनी स्थापना गरी चार महिनादेखि सुदूरपश्चिमका पहाडी जिल्लामा पानी आपूर्ति गर्दै आइरहेको कम्पनीको सिलबन्दी बोतलभित्र उपभोक्ताले आज किरा भेटाएका हुन् ।
दैनिक दुई सयभन्दा बढी पेटी तथा जारहरू उत्पादन हुँदै आएको उक्त मिनिरल वाटर डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लामा अधिकांश मात्रामा प्रयोग हुने गरेको छ । पटकपटक उक्त पानीमा किरा, लेदो र झारहरू देखिने गरेको उपभोक्ताले जनाएका छन् ।
उत्पादक कम्पनीका प्रबन्धक राजु पनेरुले किरा भेटिनु आफूहरूको कमजोरी भएको स्वीकार्दै आगामी दिनमा सच्याउने बताए ।
किरासहितको प्रदूषित पानी भेटिएपछि स्थानीय उपभोक्ताहरू आक्रोसित भएका छन् ।
बजार अनुगमन अभावका कारण डडेल्धुराका अधिकांश दैनिक उपभोग्य सामग्री गुणस्तरहीन रहेको उपभोक्ताको गुनासो छ ।
प्रकाशित मिति:
August 30, 2012