पोखरा पुगेका एमाओवादीका नेतालाई युवा संघको कालो झण्डा
एकीकृत माओवादीका शीर्ष नेता पार्टी प्रशिक्षणका लागि पोखरा पुग्दै गर्दा एमाले निकट युवा संघले कालो झण्डा देखाएका छन् ।
एकीकृत माओवादीबाट मोहन वैद्यको नेतृत्वमा नेकपा–माओवादी बनेपछि पहिलो पटक एकीकृत माओवादीको उच्च नेतृत्व पार्टी प्रशिक्षणका लागि पोखरा पुगेको हो । पोखरामा तमुवान राज्यसमितिले आयोजना गरेको प्रशिक्षणका लागि अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष एवम् प्रधानमन्त्री डा.बाबुराम भट्टराई, अर्का उपाध्यक्ष एवम् उपप्रधानमनत्री नारायणकाजी श्रेष्ठ लगायतका नेता पोखरामा पुगेका हुन ।
पोखराको प्रशिक्षण कार्यक्रममा एकीकृत माओवादीका उक्त क्षेत्रका एक हजार बढी कार्यकर्ताले सहभागिता जनाएका छन् । प्रशिक्षणका लागि पश्चिमाञ्चल ब्यूरो इञ्चार्ज लीलामणि पोखरेल समेत प्रशिक्षणमा पुगेका छन् । प्रशिक्षणका लागि पोखरामा पुगेका प्रधानमन्त्री भट्टराईलाई एमाले निकट युवा संघले पोखरा विमानस्थलमा कालो झन्डा देखाएका छन् । माओवादी शीर्ष नेता पोखरामा पुगे सँगै पोखराको सुरक्षा व्यवस्था कडा पारेको छ ।
एमाले युवा संगठनको विरोधका बीचमा भट्टराई सहित शीर्ष नेता कडा सुरक्षाका बीच प्रशिक्षण स्थल पुगेका छन् । कार्यकर्ताको स्वागत भन्दा पनि प्रशिक्षमणमा पुगेका नेतालाई युवा संघको कालो झण्डाले स्वागत गरेको थियो ।
प्रकाशित मिति:
August 12, 2012