भदौ १४ – उनन्तिसौँ अन्तर्राष्ट्रिय बेपत्ता दिवसका अवसरमा बेपत्ता परिवारहरुले आज एक साथ ‘हाम्रा बेपत्ता पारिएका मान्छे कहाँ छन्’ भनेर पुनः एक पटक राज्यको कान कोट्याउने प्रयास गरेका छन् ।
शान्तिसम्झौता भएको छ वर्ष भइसक्दा समेत सशस्त्र द्वन्द्वका पीडित अझै पनि न्याय पाउन नसकेको भन्दै बेपत्ता परिवारले ‘हाम्रा बेपत्ता पारिएका मान्छे कहाँ छन्’ भनेर आज ‘एक आवाज एक नारा’लगाएका हुन् ।
उनन्तिसौँ अन्तर्राष्ट्रिय बेपत्ता दिवसका अवसरमा बेपत्ता परिवार राष्ट्रिय सञ्जाल र सङ्क्रमणकालीन न्यायका लागि वकालत समूह (टिजे एड्भोकेसी ग्रुप) लगायतका सङ्घसंस्थाद्वारा आयोजित प्रभातफेरीसहितका दबाबमूलक कार्यक्रममा उनीहरुले “हाम्रा बेपत्ता पारिएका मान्छे कहाँ छन्” भनेका हुन् ।
बेपत्ता परिवार राष्ट्रिय सञ्जालका अध्यक्ष रामकुमार भण्डारीले बेपत्ता पारिएकाहरुको अहिलेसम्म पनि यथार्थ जानकारी सार्वजनिक हुन नसकेकामा चिन्ता व्यक्त गर्दै बेपत्ता पार्ने कार्यविरुद्ध पीडित परिवारले आज देशैभर नारा लगाएको बताए ।
उनले सरोकारवाला निकायसँगको परामर्शबिना विगतका सहमति र सर्वोच्च अदालतले गरेको फैसला बेवास्ता गर्दै आममाफी दिने उद्देश्यले ल्याउन लागिएको अध्यादेशले मेलमिलापभन्दा बदलाको भावना बढाउने चिन्ता व्यक्त गरे ।
कार्यक्रममा टिजे एड्भोकेसी ग्रुपका अधिवक्ता रेश्मा थापाले व्यक्ति बेपत्ता पार्नेजस्तो गम्भीर अपराधलाई मेलमिलाप र क्षमादानको दायराभित्र ल्याउने गरी अध्यादेश तयार पारेर सरकारले सिफारिसका लागि राष्ट्रपतिसमक्ष पठाएकामा आपत्ति व्यक्त गर्दै त्यस्तो अध्यादेश जारी गर्न नहुनेमा जोड दिए ।
विगतको सशस्त्र द्वन्द्वका क्रममा एक हजार ३५० भन्दा बढी नागरिकलाई जबर्जस्ती बेपत्ता पारिएको र करिब १७ हजारभन्दा बढी नागरिकको हत्या भएको, हजरौँको सङ्ख्यामा यातना पीडित भएको, यौनजन्य हिंसा र बलात्कृत, विस्थापित तथा अङ्गभङ्ग पारिएको जनाइएको छ ।