साउन २० – पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यले प्रदान गरेको सुविधाको गाडी फिर्ता गरेसँगै उनी गाडी फिर्ता गर्नेमा सेकेन्ड अन्तिममा परेका छन् ।
अब भने पूर्व प्रधानमन्त्रीहरु मध्ये एक जनाले मात्रै गाडी फिर्ता गर्न बाँकी रहेको छ ।
पूर्व विशिष्ट पदाधिकारीको हैसियतमा देउवाले पनि पछिल्लो पटक राज्यका तर्फबाट प्राप्त गरिएको बा ६ च १०२५ नम्बरको टोयोटा प्राडो गाडी गृहमन्त्रालयमा बुझाइएका हुन् ।
देउवाले पूर्व प्रधानमन्त्रीको हैसियतमा राज्यले प्रदान गर्ने अन्य सुविधा पनि नलिने घोषणा गरेको बताइएको छ ।
यसरी उनले पनि गाडी फिर्ता गरेसँगै पूर्वप्रधानमन्त्रीहरुमा सुविधाको गाडी फिर्ता गर्नेमा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा मात्रै बाँकी रहन पुगेका हुन् ।
यसअघि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र लोकेन्द्रबहादुर चन्दले राज्यद्वारा प्रदान गरिएको सुविधका गाडी लगायतको सुविधा फिर्ता गरिसकेका छन् ।
सर्वोच्च अदालतले पूर्वविशिष्ट पदाधिकारीहरूलाई आजीवन गाडी र सचिवालय लगायतका सुविधा दिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछिको अवस्थामा अब एक पूर्वप्रधानमन्त्री र विश्वनाथ उपाध्यायसहित १० पूर्वप्रधानन्यायाधीशले गाडी फिर्ता गर्न बाँकी छ ।
पूर्वप्रधानन्यायाधीशत्रय मीनबहादुर रायमाझी, अनुपराज शर्मा र रामप्रसाद श्रेष्ठले एक साताअघि सर्वोच्चमै ल्याएर गाडीसहितको सुविधा फिर्ता गरिसकेका छन् । पूर्वसभामुखहरू रामचन्द्र पौडेल, तारानाथ रानाभाट र सुवास नेम्वाङले समेत गाडीलगायतका सुविधा एक साताअघि नै फिर्ता गरिसकेका छन् । पूर्वसभामुख दमननाथ ढुंगानाले भने गाडीलगायतको सुविधा लिएका थिएनन् । पूर्वगृहमन्त्रीहरूलाई भने सरकारले गाडी सुविधा दिनै बाँकी थियो ।