साउन २० – हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु क्षेत्रमा भरिया काम गर्दै आएका ६ जना जङ्गली साग खाएर चिकिस्त बिरामी परेका छन् ।
किम्बु खोज्न जाने क्रममा स्थानीय जङ्गलमा पाइने दनुर जातको साग खाएपछि उनीहरू बिरामी परेका हुन् ।
चौँरीखर्क–५ फाक्दिङमा भाडाको कोठामा बसेर भारी बोक्दै आएका उनीहरू बिहीबार दिउँसो ४ बजेतिर जङ्गलबाट दनुर जातको साग ल्याएर पकाएर खाएपछि बेहोस भएका थिए ।
उनीहरू बेहोस भएको बारे स्थानीयवासीले थाहा पाएपछि प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय, लुक्लाले उनीहरुको उद्धार गरेको छ ।
उनीहरुलाई घटनाका बारेमा प्रहरीमा खबर आएपछि शुक्रबार प्रहरी टोली गएर स्थानीयवासीको सहयोगमा उनीहरूको उद्धार गरी लुक्लामा रहेको पासाङ ल्हामु निकोलनिकी अस्पतालमा उपचारका लागि ल्याइएको हो ।
जङ्गली साग खाएर बिरामी पर्नेहरूमा पावै–८ का नवीन थुलुङ, काँकु–२ का आशिष खालिङ, टाक्सिन्दु–४ का पासाङ तामाङ, उनका दुई श्रीमती पासाङल्हामु तामाङ र पासाङ फुटी तामाङ तथा २५ महिनाकी छोरी दावाजाङमु तामाङ रहेका छन् ।