असोज ७ – वर्षाका कारण उदयपुरका ग्रामीण क्षेत्रमा सडक अवरुद्ध हुँदा सर्वसाधारणमा मर्का परेको छ ।
केही दिनदेखि आएको निरन्तर वर्षाका कारण सदरमुकाम गाईघाटदेखि जिल्लाको ग्रामीण भेग जोड्ने सडकमार्ग अवरुद्ध हुँदै आएको हो ।
सदरमुकाम गाईघाटदेखि साउने रौता सडकखण्ड र मुर्कुची–भुटार सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएपछि जिल्लाको पहाडी क्षेत्रमा सञ्चालन हुने यातायात बन्द भएको हो ।
यस्तै गाईघाटदेखि बेल्टार, रामपुर ठोक्सिला जोड्ने वैकल्पिक राजमार्गसमेत बन्द हुन पुगेको स्थानीय यातायात व्यावसायीको भनाई छ ।
उता जिल्लाको पश्चिमी भेगको कटारी बजार हुँदै पहाडी क्षेत्र जोड्ने, कटारी बाहुनीटार सडकखण्ड तथा कटारी, हर्देनी, रुपाटार ओख्ले सडकखण्डसमेत बन्द हुँदा सो क्षेत्रका यातायात सञ्चालनमा कठिनाइ भएको छ ।
दसैं तथा तिहार जस्ता चाडपर्व आइरहेको अवस्थामा जिल्लाको पहाडी भेगका ग्रामीण सडक बन्द हुँदा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समेत समस्या पर्ने स्थानीयवासी बताउँछन् ।
दैनिक उपभोग्य वस्तु चिनी, तेल, दाल, नुनलगायत अन्य वस्तुु मानिसले बोक्न बाध्य हुन परेपछि तिनको मूल्यवृद्धि हुन थालेको बताइएको छ ।