असोज २८ – चितवनको नारायणगढस्थित पुल्चोकमा यात्रु बसले मोटरसाइकललाई ठक्कर दिँदा गएराति मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक गैँडाकोट–६ का ३५ वर्षीय प्रदीप बोटे रहेका छन् ।
नारायणगढबाट नवलपरासीतर्फ जाँदै गरेको ना४ख १०५४ नम्बरको यात्रु बसले गैँटाकोटबाट नारायणगढतर्फ आउँदै गरेको बोटे चढेको ग४प १५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
सो दुर्घटनापछि गम्भीर घाइते बोटेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गाडी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
यता, आज बिहान चितवनको रत्ननगरतर्फ जाने गोन्द्राङस्थित ढाटमा पैसा बुझाएर फर्कंदै गरेका सहचालक आफ्नै गाडीको ठक्करबाट गम्भीर घाइते भएका छन् ।
काठमाडौँबाट वीरगन्ज जाँदै गरेको ना३ख ७५८६ नम्बरको गाडीबाट ढाटमा पैसा बुझाएर फर्कंदै गर्दा सिन्धुपाल्चोकका सहचालक भीमसेन चौलागार्इं चलिरहेको गाडीमा चढ्न थालेको थिए ।
तर उनी गाडी चढ्न नपाउँदै गाडी दौडिएपछि लड्दा उनलाई आफ्नै गाडीको चक्काले च्यापेको थियो । उनको अहिले भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चालक र गाडीलाई नियन्त्रणमा लिइएको छ । रासस