कालीगण्डकी किनारलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने
कात्तिक १९ – नवलपरासीको कालीगण्डकी नदी किनार क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न कालीगण्डकी नदी किनारका बासिन्दा सक्रिय भएर लागेका छन् ।
गैंडाकोटदेखि रकुवासम्मको तटीय क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न योजना बनाएर स्थानीयवासी लागेका हुन् । कोटथरको थामबेँसी, बुलिङ्टारको रामेश्वरघाट, भारतीपुर र मिथुकरमको घुमारीघाट र डेढगाउँको अकलादेवी मन्दिर ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्र हुन् ।
रामेश्वरघाट ऐतिहासिक धार्मिक क्षेत्र भएकाले त्यसको संरक्षणमा लागिपरेको बुलिङटार पूर्व गाविसका अध्यक्ष पदमराज गिरीले बताउनुभयो । भगवान् श्रीकृष्णले कामधेनु गाईको दूध खाएका बेला कालीगण्डकी नदीले बचाएकाले घुमारी क्षेत्रको छुट्टै ऐतिहासिक धार्मिक महत्व भएको नेपाली काँग्रेसका जिल्ला सचिव विष्णु लामिछानेले बताए ।
रमणीय पर्यटकीयस्थल भएकाले बालीघाट र अकलादेवीको मन्दिरको विकास गर्न सरकारी लगानी आवश्यक भएको डेढगाउँका हुमनाथ भट्टराईको भनाई छ ।
कालीगण्डकी कोरिडोर सडकको निर्माण छिटो भए यस ठाउँको विकास हुने उनले बताए ।
माथिल्लो भाग महाभारत पर्वत शृङ्खला भएकाले नदीको तट र त्यसको विकाससँगै गरेर आर्थिक उपार्जन गरी गरिबी निवारणसमेत गर्नसकिने छ ।
प्रकाशित मिति:
November 04, 2012