मङ्सिर १४ – प्युठानको भानुभक्त उच्च माध्यमिक विद्यालय धरमपानी बर्बोटमा विद्यार्थीलाई मोबाइल फोन प्रयोगमा निषेध गरिएको छ ।
कक्षामा पढाइ भइरहेका बेला मोबाइलको रिङटोन बज्ने, गीत बजाउनेजस्ता कार्यले पठनपाठनमा समस्या हुने गरकाले कक्षा सञ्चालनका समयमा मोबाइल फोन निषेध गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, शिक्षक, विद्यार्थी र बुद्धिजीवीहरुको संयुक्त भेलाले यस्तो निर्णय गरेको राससमा उल्लेख छ ।
नियमित पठनपाठनका लागि विद्यालयमा यसअघि लागू गरिएको आचारसंहितालाई परिमार्जन गर्दै यो बुँदा थपिएको हो । नियम उल्लङ्घन गरिए एक हप्ताका लागि मोबाइल जफत हुने निर्णयसमेत भएको विद्यालयका शिक्षक दीपेन्द्र पौडेलले बताउनुभयो ।
विद्यार्थी तथा शिक्षक सबैलाई अनुशासित बनाउन, स्तरीय पठनपाठन सञ्चालन गर्न र अतिरिक्त क्रियाकलापमा विद्यार्थीको सक्रियता बढाउन आचारसंहिता महत्वपूर्ण हुने शिक्षक पौडेलले बताउनुभयो ।
त्यस्तै भेलाले महिनाको दोश्रो र चौथो शुक्रबार विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप कार्यक्रममा विद्यार्थीले अनिवार्य सहभागिता जनाउनुपर्ने निर्णय पनि गरेको छ ।
आचारसंहितामा विद्यालयका विद्यार्थी र शिक्षक नियमितरुपमा उपस्थित हुने, दुबैले अनिवार्यरुपमा विद्यालय पोशाक लगाउनुपर्ने, विद्यालयको विकासमा जिम्मेवार भूमिका खेल्नुपर्नेलगायतका नियम रहेका छन् । कक्षा सञ्चालनको समयबाहेक अन्य समयमा भने मोबाइलमाथि प्रतिबन्ध लगाइएको छैन ।