विवादकै बिच कात्तिकमै पूर्ण बजेट ल्याउने माओवादीको निर्णय
कात्तिक १७ – एकीकृत नेकपा माओवादीले बजेट र आर्थिक विषयमा कुनै पनि राजनीतिक दलले राजनीति गर्न नहुने निष्कर्ष निकाल्दै कात्तिकभित्रै पूर्ण बजेट ल्याउने निर्णय गरेको छ ।
एमाओवादीको आज बसेको बैठकले सरकारले गत असार मसान्तमा प्रस्तुत गरिसकेको एक तृतीयांश बजेट कात्तिक मसान्तमा सकिने भएकाले सत्तारुढ माओवादीले राष्ट्रलाई आर्थिक अराजकता र सङ्कटबाट मुक्त राख्नका लागि पूर्ण बजेट नै ल्याउनुपर्ने निष्कर्ष निकालेको हो ।
अर्थमन्त्री समेत रहेका माओवादी नेता वर्षमान पुनले बैठकपछि देश र जनतालाई ध्यानमा राखेर कात्तिक मसान्तमा पूर्ण बजेट ल्याउने निर्णय गरेको बताए ।
बजेटका विषयमा राजनीति गर्नेहरु देश र जनतालाई भड्खालोमा हाल्न चाहने तत्वहरु रहेको एमाओवादीले ठहर गरेको उनको भनाई छ ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा बसेको बैठकले सहमतिका लागि विपक्षी दलहरुसँग अधिकतम प्रयास गर्ने निर्णय पनि गरेको पुनले बताए ।
सत्तारुढ दल एमाओवादी र सरकारले पूर्ण बजेट ल्याउने तयारी गरिरहे पनि विपक्षीहरुले यसको कडा विरोध जनाउँदै आएका छन् ।
प्रकाशित मिति:
November 02, 2012