मंसिर १७ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयबाट उनका आफन्त समिर दाहाललाई हटाइएको छ ।
एमाओवादीले आज प्रचण्डको नीजि सचिवालयमा हेरफेर गर्दै दाहालको स्थानमा तमुवान राज्य समितिका सदस्य चुडामणि खड्कालाई नियुक्त गरिएको हो ।
पार्टी अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा आज बसेको बैठकले निजी सचिवालयमा परिवर्तन गर्ने निर्णय गरेको हो ।
यसअघि एमाओवादीको गत असारमा सम्पन्न सातौँ विस्तारित बैठकले पार्टी अध्यक्षको सचिवालय परिवर्तन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार यसअघि सचिवालयमा कार्यरत समिर दाहाललाई हटाएर खड्कालाई ल्याइएको हो ।
पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव हितराज पाण्डेले पार्टीको असारमा सम्पन्न विस्तारित बैठकको निर्णयलाई कार्यान्वयन गर्न सचिवालय फेरफेर गरिएको बताए ।
आजको बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको बताइएको छ । उक्त छलफल अन्तर्गत वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको स्वरुप दिने विषयमा पनि पार्टी स्पष्ट भएको निर्णय गरिएको बताइएको छ ।