एजेन्सी – दक्षिण कोरियाको इलेक्ट्रोनिक्स सामग्री उत्पादक संस्था सामसुङले अमेरिकी प्रतिस्पर्धी एपललाई चुनौती दिँदै सन् २०१० देखि हालसम्म १० करोड ग्यालेक्सी स्मार्टफोन बिक्री गरेको जानकारी दिएको छ ।
ग्यालेक्सी एस फोन सन् २०१० मा बिक्रीमा आएको हो र सोही समयमा दुई करोड ५० लाख बिक्री भएको उक्त संस्थाले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
ग्यालेक्सी एस दोस्रो सन् २०११ को अप्रिलमा बजारमा आएको हो र त्यसको बिक्री चार करोड भएको र ग्यालेक्सी एस तेस्रो गत वर्ष मे महिनामा बजारमा आएको हो र सो उत्पादन सोही सङ्ख्यामा बिक्री भएको थियो ।
सन् २०१२ मा सामसुङले एपल कम्प्युटरलाई स्मार्टफोनको बजारमा पछि पारेको छ । सन् २००९ मा सामसुङको स्मार्ट फोनको बजार विश्वको कुल बजारको ३.३ प्रतिशत रहेकोमा सन् २०१२ यो सङ्ख्या ३१.३ प्रतिशत पुगेको छ ।
अनुसन्धान संस्था आईएचएस आईसप्लीले सन् २०१२ मा सामसुङले स्मार्टफोनको विश्व बजारको २८ प्रतिशत भाग ओगटेको जानकारी दिएको छ । उसले सन् २०११ मा यस संस्थाको बजार २० प्रतिशत रहेको उल्लेख गरेको छ ।
एपलको स्मार्ट फोनको विश्व बजारमा सन् २०११ मा १९ प्रतिशत भाग रहेकोमा सन् २०१२ मा २० प्रतिशत पुगको जानकारी आईएचएसले दिएको छ ।
