फागुन १८, रासस । नेकपा–माओवादीसम्बद्ध अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको केन्द्रीय समिति सचिवालयको दोस्रो पूर्ण बैठकले ‘लाल मजदुर राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने भएको छ ।
महासङ्घको बुधबार र बिहीबार बसेको बैठकले आगामी चैत १ गतेदेखि वैशाख १८ गते (मे दिवस) सम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको महासङ्घका अध्यक्ष रामदीप आचार्यले आज विज्ञप्ति जारी गरी जानकारी दिनुभएको हो । अभियानअन्तर्गत तस्कर, दलाल, कालाबजारिया, कमिसनखोर र राष्ट्रघातीको भन्डाफोर तथा जनकारबाही गरिने विज्ञप्तिमा उल्लेख छ ।
पेसागत सङ्घहरूले न्यूनतम ५ लाख ६६ हजार सदस्यता वितरण गर्ने, चैत १ गते श्रम मन्त्रालयमा माग पत्र बुझाउने र मजदुरको न्यूनतम ज्याला महँगीको अनुपातमा वृद्धि नगरे सशक्त आन्दोलन गर्ने निर्णयसमेत बैठकले गरेको छ । बैठकले महासङ्घको पूर्वाञ्चल ब्युरोमा हेम कार्की, मध्यामाञ्चल ब्युरोमा सोनालाल साह र सशक्तशरण गोले तथा मध्यपश्चिम ब्युरोमा योगेन्द्र कुमाललाई इन्चार्ज तोकेको विज्ञप्तिमा उल्लेख छ ।