फागुन ११ – हृदयाघात भई चार दिनदेखि बैंककस्थित समितिवेज अस्पतालमा उपचारका लागि भर्ना गरिएका पूर्वयुवराज पारस शाहको अवस्थाबारे अनेक अड्कल बाजी भएका छन् ।
सामाजिक सञ्जाल तथा केही अनलाइनहरुमा पारसको निधन भईसकेको तर पुष्टि हुन बाँकी भनेर प्रचार गरिएको छ । तर, अस्पताल स्रोतले भने उनको अवस्था हिजोकै जस्तो रहेको जनाएको छ ।
हृदयाघात भएको एक घण्टाभित्रै गर्नुपर्ने मुटूको महत्वपूर्ण शल्यक्रिया विशेष कारणवश नगरिएको चर्चाले उनको अवस्थाबारे शंका उत्पन्न गरिदिएको हो ।
चिकित्सकहरुले उनलाई गम्भीर किसिमको हृदयघात भएको र अवस्था गम्भीर रहेको भनेर पटक पटक उल्लेख गर्दै आएका छन् ।
शाहको पछिल्लो स्वास्थ्य स्थितिबारे चिकित्सकहरूले अहिल्यै केही भन्न नसकिने बताएको उनका सहयोगीहरुले बताएका छन् । उनलाई भेन्टिलेटरको सहायताले श्वासप्रश्वास दिइइएको छ ।
उनका सहयोगीहरुले चिकित्सकको भनाई उदृत गर्दै पारसको अवस्था हिजोको जस्तै भएको उल्लेख गरेका छन् ।
कोमामा रहेका पारस अचेत अबस्थामा छन् । ज्वाइं डा राजीव शाहले मात्र उनलाई भेट्न पाएका छन् ।
मुटुको गति सामान्य नहुँदा उनको एमआरआई गर्न चिकित्सकहरूलाई अप्ठ्यारो परेको बताइएको छ ।
यसैबीच, पारससँगै छोरी पनि बिरामी भएपछि नेपालमै रहेकी पूर्वयुवराज्ञी हिमानी शाह आज दिउँसो पारसलाई भेट्न थाइ एयरवेजबाट त्यसतर्फ जाँदैछिन् ।