पोर्चुगलमा आकस्मिक अक्षयकोषको स्थापना
दिनेश/विवेक
पुस २८ । आपत बिपतमा परेका नेपालीहरुको उद्धार तथा सहयोगार्थ पोर्चुगलमा बृहत सांस्कृतिक कार्यक्रम गरी आकस्मिक अक्षयकोषको स्थापना गरिएको छ । गैर—आवासीय नेपाली संघ एनआरएन पोर्चुगलको आयोजनामा लिस्बोन स्थीत होटल सानामा आयोजित कार्यक्रममा नेपालका चर्चित लोक गायक पशुपति शर्मा, रिता थापा मगर सहित स्थानिय कलाकारहरुले आप्नो प्रस्तुति मार्फत दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए ।
यस्तै हास्य कलाकार मनोज गजुरेलले सन्यासीको भेषमा एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको अभिनय गरि दर्शकहरुलाई पेट मिच्नेगरी हसाएका थिए ।
पोर्चुगलमा आपत बिपतमा परेका नेपालीहरुको उद्धार तथा सहयोगार्थ स्थापित अक्षयकोषका लागि पोर्चुगलमा स्थापित ब्यवसायीक घराना हमाल परिवारले सबैभन्दा बढी २२ सय २२ युरो २२ सेन्ट दान गरेका थिए ।
यस्तै गैरआवासिय नेपाली संघ युरोपका संयोजक अर्जुन कुमार श्रेष्ठले ५ सय ५०, एनआरएन पोर्चुगलका अध्यक्ष एवं ब्यवसायी रमेश कुमार गुरुङले ५ सय १, कुमार श्रेष्ठले ५ सय ५, ब्यवसायी एवं जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले १ सय ५०, डिलु चापागाईले ३० युरो दान गरेका थिए ।
अक्षयकोष स्थापनार्थ आयोजित औपचारीक कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका सभापति समेत रहेका एनआरएन पोर्चुगलका अध्यक्ष गुरुङले दुर्घटनामा परि ज्यान गुमाएका तथा अंगभंग भएका र गम्भीर प्रकृतिका स्वास्थ्य समस्या भएका नेपालीको परिवारलाई अलिकति भएपनि राहत पुगोस् भनेर परोपकारी कार्यको थालनी गरिएको भन्दै सहयोगका लागि सबैलाई अनुरोध गरे ।
अक्षयकोष स्थापना भएकै दिन ठुलो सहयोग राशी संकलन भएको भन्दै उनले कोषबृद्धीका लागि आगामि दिनमा थप योजना अघि सार्ने पनि बताए ।
यस्तै कार्यक्रमका प्रमुख अतिथि एवं एनआरएन युरोप संयोजक अर्जुन कुमार श्रेष्ठले बेल्जीयमबाट सुरुभएको आकस्मीक अक्षयकोष स्थापनाको अभियान पोर्चुगल सहित युरोपभर फैलिएर सफल हुने विश्वास ब्यक्त गरे ।
एनआरएन पोर्चुगलका संस्थापक अध्यक्ष पुर्ण हमालले स्थापनाकाल देखि नै आकस्मिक अक्षयकोष स्थापनाको सोच बनाएको भएपनि अहिले आएर सार्थकतामा परिणत भएको भन्दै खुशी ब्यक्त गरे । सानो सहयोगले कुनै नेपालीको अमुल्य जीवन बच्छ भने सबैले मन बचनले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।
केहिदिन अघि मात्रै पोर्चुगलमा एक नेपालीले झुण्डीएर आत्महत्या गरेका थिए । पोर्चुगलमा रहेका नेपालीहरुले ब्यक्तिगत रुपमा रकम संकलन गरी उनको दाहसंस्कारको ब्यवस्था मिलाएका थिए ।
नयाँ बर्षको समेत अवसर पारेर कार्यक्रमको आयोजना गरिएको हो ।
प्रकाशित मिति:
January 13, 2014