फागुन – पाँचथरको नाँगीन गाँउ विकास समितिले आफ्नो घरमा चर्पी बनाउन अटेर गर्ने परिवारका सदस्यलाई नागरिकता र राहदानीका लागि सिफारिस नगर्ने भएको छ ।
मंगलवार सम्पन्न गाविस स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिका पदाधिकारीका लागि खुल्ला दिशामुक्त गाविस घोषणा गर्ने अभियान सम्बन्धि छलफल पछि यस्तो निर्णय भएको सचिब बिश्वमोहन श्रेष्ठले जानकारी दिए ।
छलफलमा नाँगीन गाँउ विकास समितिलाई आगामी बैशाख महिना भित्रै खुल्ला दिशामुक्त गाविस घोषित गर्ने निर्णय पनि पारित भएको छ ।
उक्त अभियान सफल पार्न गाविसका अति बिपन्न परिवारलाई चर्पी निर्माणका लागि सहयोग गर्न दानबिर कोष पनि स्थापना गरिएको श्रेष्ठले जानकारी दिए । उनका लागि कोषका लागि जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिले ८० हजार रुपैंया उपलव्ध गराउने आश्वासन दिएको छ ।
कोष स्थापनाका लागि नेपाल रेडक्रस सोसाइटि जिल्ला साखा पाँचथरका सभापति कृष्णप्रसाद नेउपानेले ८ हजार, नाँगीन ६ का मित्रप्रसाद काफ्लेले ५ हजार, नाँगीन ४ का देवीप्रसाद अधिकारीले ५ हजार,कालिका मावि बावुङगाका प्रअ श्रीप्रसाद घिमिरेले ५ हजार,शिक्षक यामकुमार आङवोले ५ हजार, रेडक्रसका कार्यक्रम अधिकृत रुद्रनारायण अधिकारीले ५ हजार र नेपाल जनउद्धार संघका अध्यक्ष बालकृष्ण ओझाले एक हजार रुपैंया जम्मा गरेका थिए ।
संकलित रकम गाविसका अति बिपन्न परिवारलाई चर्पी निर्माणका लागि सामग्री खरिद गर्न सहयोग गर्ने निर्णय पनि पारित भएको थियो ।
यसैबिच पाँचथरका लिम्बा गाविसलाई फागुन १० गते खुल्ला दिशामुक्त गाविस घोषणा गरिँदैछ । खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको अगुवाईमा गाविसलाई खुल्ला दिशामुक्त घोषणा गर्न लागिएको हो ।
यसअघि जिल्लाका ४१ मध्ये ४ गाविस खुल्ला दिशामुक्त घोषित भएका छन । पाँचथरले सन २०१३ भित्रै जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्दै पुर्वाञ्चलमै पहिलो बन्ने कार्ययोजना बनाएको छ ।