फागुन १२ – काठमाडौँबाट बैंकक पुगेपछि युवराज्ञी हिमानी शाहले पारसलाई हेरेकी छन् । हृदयघातका कारण अचेत रहेका पूर्वयुवराज पारसको अवस्था अत्यन्तै चिन्ताजनक अवस्थामा रहेको अवस्था हेरेपछि उनले कुनै प्रतिक्रिया भने जनाइनन् । तर उनी निक्के भावुक भएको बताइएको छ ।
चार दिनसम्म स्वास्थ्यमा कुनै सुधार नआएपछि चिकित्सकहरुले शुक्रबार आइसियुबाट सिसियुमा सारेर उपचार गरिरहेका छन् ।
थाइल्यान्डको समितिवेज अस्पतालको क्रिटिकल केयर युनिटमा रहेका पारसको अवस्थालाई चिकित्सकले निकै खतरायुक्त भएको भन्दै स्वास्थ्यमा सुधारका लागि चमत्कार नै आउनुपर्ने बताएको बताइएको छ ।
पारसको अवस्थामा सुधार नआएपछि अस्पतालले उनको एमआरआई गर्नका लागि हाइपो थर्मिया उपचार विधिबाट शरीरको तापक्रमलाई सामान्य अवस्थामा ल्याउने तयारी पनि गरिरहेको छ ।
यो उपचार पद्धतिमा बिरामीको शरीर चिस्याउँदै उसको शरीरका लागि आवश्यक ऊर्जालाई न्यून बिन्दुमा राखेर ‘मेटाबोलिक डिमान्ड’हरू कम गरिन्छ । मानिसको शरीरका सबै अवयवलाई ज्युँदो राखिराख्न यस्तो विधि अपनाइने गरिन्छ ।
यसअघि पारसको स्वास्थ्य अवस्थाबारे विभिन्न टिकाटिप्पणी चलेपछि अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै उनको अवस्था स्थिर रहेको स्पष्ट पारेको थियो ।