चैत ११ - राष्ट्रपति डा रामवरण यादवले संवैधानिक परिषद्को सिफारिसमा निर्वाचन आयोगको प्रमुख आयुक्तसहित अन्य आयुक्तको नियुक्ति गरेका छन् ।
राष्ट्रपति डा यादवले आयोगका प्रमुख आयुक्तमा नीलकण्ठ उप्रेती (काठमाडौँ) लाई नियुक्ति गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
आयोगका अन्य नवनियुक्त आयुक्तहरुमा दोलखबहादुर गुरुङ (गोरखा), अयोधीप्रसाद यादव (सप्तरी), रामभक्तप्रसाद विश्वकर्मा ठाकुर (पर्सा) र ईला शर्मा (ललितपुर) रहेका छन् ।
राष्ट्रपति डा यादवले नेपालको अन्तरिम संविधान २०६३ को धारा १२८ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा आयोगका पदाधिकारी नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहसचिव कृष्णप्रसाद लम्सालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
नवनियुक्त प्रमुख आयुक्त उप्रेती, आयुक्तद्वय गुरुङ र यादवले यसअघि पनि आयोगमा रहेर जिम्मेवारी सम्हालेका छन् । विश्वकर्मा र शर्मा भने आयोगमा नयाँ अनुहार हुनुहुन्छ ।
नवनियुक्त आयुक्त ठाकुरसँग कूटनीतिक क्षेत्रमा रहेर काम गरेको अनुभव छ भने शर्माको पृष्ठभूमि पत्रकारिता हो ।
उनीहरुलाई आयोगमा नियुक्तिका लागि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल संयोजक रहेका उच्चस्तरीय राजनीतिक समितिले नाम सिफारिस गरेको थियो । समितिमा एनेकपा (माओवादी), नेपाली काँग्रेस, नेकपा (एमाले) र मधेसी मोर्चाका शीर्ष नेताहरु रहेका छन् ।
समितिले प्रस्ताव गरेको नामलाई सरकारले अनुमोदन गरेर नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । आयोगमा पदाधिकारीहरुको नियुक्तिसँगै आगामी चुनावका लागि वातावरण सहज बनेको छ ।