बबरमहलमा बम राखिएको हल्लाले राजधानीमा सन्त्रास
फागुन १९ – शुक्रबार साँझ बबरमहलस्थित सरकारी वकिलको कार्यालय अगाडि बम रहेको हल्ला चलेपछि राजधानी नै त्रासित बन्न पुग्यो ।
बम राखेको हल्ला भने एभिन्यूज टेलिभिजनबाट फैलिन पुगेको थियो ।
एभिन्यूज टेलिभिजनमा नेकपा माओवादी क्रान्तिकारीले फोन गरेर बबरमहलस्थित सरकारी वकिलको कार्यालय अगाडी दुई दिन अगाडी बम राखेको तर माटोमा पुरिएर नपड्एिकाले क्षति नहोस् भनेर खबर गरेको भन्दै समाचार प्रसारण गरेको थियो ।
त्यसपछि त्यहाँ बम डिस्पोजल टोली गएर अवलोकन गर्दा केही पनि फेला नपरेको हो । प्रहरीले त्यहाँ बम रहेको भन्ने कुरा हल्ला मात्रै भएको स्पष्ट पारेको छ ।
महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक चक्रबहादुर सिंहले बम रहेको हल्लापछि प्रहरीले सो क्षेत्रमा गएर खानतलासी गरे पनि कुनै शङ्कास्पद वस्तु नपाइएकोे बताएका छन् ।
प्रकाशित मिति:
March 02, 2013