ईनार सफा गर्ने क्रममा एकको मृत्यु, दुई जना बेहोस
चैत १८, रासस - उदयपुरको रामपुर ठोक्सिला गाविस–७ गर्भेडाँडामा हिजो साँझ ईनार सफा गर्ने क्रममा एक जनाको मृत्यु भएको छ भने दुईजना बेहोस भएका छन् ।
आफ्नै घरको ईनार सफा गर्ने क्रममा २७ वर्षीय बुद्धिमान विकको अक्सिजनको अभावमा ईनारभित्र नै मृत्यु भएको थियो भने अर्का दुई भाइ कृष्ण विक र रामबहादुर विकलाई भने बेहोस अवस्थामा उद्धार गरिएको ईलाका प्रहरी कार्यालय रामपुरले बताएको छ ।
ईनारमा पहिला बुद्धिमान पसेका थिए, तर विक बाहिर नआएपछि अन्य दुई भाइ पनि ईनारभित्र पसेका थिए । बुद्धिमान ईनारभित्र नै मृत भेटिएका थिए ।
दुई भाइलाई भने स्थानीवासीको सहयोगमा उद्धार गरेर बाहिर निकालिएको स्थानीय केशव थापाले बताए ।
बेहोस भएका रामबहादुर र कृष्णको स्थानीय स्वास्थ चौकीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालयले बताएको छ ।
प्रकाशित मिति:
March 31, 2013