फागुन २७ – दाङको देउखुरीमा निर्दोश र निरपराध दुई नावालक छोरालाई विष खुवाएर हत्या गरी आमाले पनि सँगै आत्महत्या गरेकी छिन् ।
इलाका प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक बाबुकाजी गिरीका अनुसार सतबरिया गाविसकी ३० वर्षीया सीता चौधरीले तीन वर्षीय छोरा आरएन चौधरी र पाँच वर्षीय सुगम चौधरीलाई विष खुवाएर हत्या गरेकी छिन् ।
गएराति घरमा कोही नभएको समयमा सीताले आफ्ना दुई सन्तानलाई चाउचाउमा विष मिसाएर ख्वाएको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक गिरीले बताउनुभयो । सीताले पनि सोही विष मिसिएको चाउचाउ खाएकी थिइन् ।
प्रहरीका अनुसार घटना हुँदाको समयमा सीताका पति बनारसी चौधरी काम गर्न घरबाहिर गएका थिए । साँझ घर फर्कदा आमाछोरा तीनै जना छटपटाइ रहेको अवस्थामा देखेपछि बनारसीले तत्कालै स्थानीय प्रहरीलाई खबर गरेका थिए ।
खबर पाएलगत्तै लमहीबाट गएको प्रहरीको टोलीले उपचारका लागि उनीहरुलाई प्राथमिक स्वास्थ केन्द्र लमहीमा ल्याउँदै गर्दा तीनै जनाको बाटोमा नै मृत्यु भएको थियो । घटनास्थलबाट प्रहरीले दुईवटा चाउचाउका खोल र विषको डब्बा फेला पारेको प्रहरी निरीक्षक गिरीले जानकारी दिनुभयो ।
बनारसी चौधरीले आफूसँग सीताको कुनै विवाद नभएको प्रहरीलाई बताएका छन् । यद्यपि विष सेवनको कारण अझै खुल्न सकेको छैन । सो घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । रासस
Powered by Blogger.
दुई छोराको हत्या गरी आमाद्वारा आत्महत्या
प्रकाशित मिति:
March 10, 2013