फागुन, २८ - पूर्व पश्चिम लोकमार्गमा गएराति भएको सवारी दुर्घटनामा परी एक ट्राफिक प्रहरी जवानको मृत्यु भएको छ ।
सर्लाही जिल्ला स्थायी घर भई महानगरीय ट्राफिक बित्त कोटेश्वरमा कार्यरत प्रहरी जवान अजय झाको मृत्यु भएको हो ।
ना२४प १६०६ नम्बरको मोटरसाइकलबाट घरतर्फ गइरहेका झाको मोटरसाइकल सडकमा निजगढस्थित सडक छेउमा रोकी राखिएको ना२त ६८६ नम्बरको ट्याक्टरमा ठोक्किँदा गम्भीर घाइते भएका झाको उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक विज्ञान बस्तेनले जानकारी दिनुभयो ।
यसैबीच वीरगन्जको छपकैँया चोकमा आज बिहान झुन्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
छपकैँया चोकको मूल सडक छेउमा नै रहेको एक झुपडीमा बिहान झुन्डिरहेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ । मधेसी मूलका जस्ता देखिने उक्त शवको शरिरभरि घाउ तथा नीलडाम भएका कारण उनको कसैले हत्या गरी सो स्थानमा शव झुन्डाएको हुन सक्ने प्रहरीको आशङ्का छ ।
सेतो सर्ट र खैरो पाइन्ट लागेको अवस्थामा शव फेला परेको र शवको सनाखत भने हुन नसकेको प्रहरी नायब उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो । रासस
Powered by Blogger.
सवारी दुर्घटनामा ट्राफिक प्रहरी जवानको मृत्यु
प्रकाशित मिति:
March 11, 2013