चैत १२, रासस - जिल्ला कारागार पाँचथरमा कैदी बन्दीबीच गएराति झडप हुँदा तनाव सिर्जना भएको छ ।
कारागारका कैदीलाई चौकीदार र नाइकेहरुले अमानवीय व्यवहार गरेको भन्दै अन्य बन्दीहरु आन्दोलित भएपछि झडपको स्थिति सिर्जना भएको हो । कैदी बन्दीको झडपपछि व्यापक रुपमा परिचालित प्रहरीले पाँचजना कैदीलाई पक्राउ गरी हिरासतमा राखिएको जिल्ला कारागार प्रमुख सुरेन्द्र दाहालले जानकारी दिए ।
प्रहरीले चौकीदार सुजन थापा, वरिष्ठ नाइके सञ्जय राई, भाइ नायिके लव श्रेष्ठ, विनोद कार्की र दिनेश राना मगरलाई पक्राउ गरी हिरासतमा राखेको छ । कारागार विभागको निर्देशनमा पक्राउ परेका चारजनालाई कारागार सार्ने तयारी भएको प्रमुख दाहालले जानकारी दिए । दाहालका अनुसार राना मगरलाई भने जिल्ला कारागारमा नै राख्ने तयारी भएको छ ।
चौकीदार तथा नाइकेहरुले कैदी बन्दिलाई कुट्ने, चन्दा उठाउने, आफन्तहरुले ल्याइदिएको खाना खोस्नेलगायतका अमानवीय व्यवहार गर्ने गरेको कैदीले बताएका छन् । विभिन्न समयमा उनीहरुले कैदीलाई कुटेर घाइते बनाए पनि बाहिर भने ज्यानै लिने धम्की दिएकाले घटना सार्वजनिक गर्न नसकिएको पीडितहरुको भनाइ छ ।
पक्राउ परेका थापा, राई, श्रेष्ठ र कार्कीले आर्थिक अनियमितता समेत गरेको आरोप उनीहरुले लगाएका छन् ।
केही दिनअगाडि चौकीदार तथा नाइकेको कुटाइबाट प्रकाश परियार, दिलकुमार तामाङ, दुर्गा गौडतौला, प्रकाश तामाङ घाइते भएको बताइएको छ ।
हालका चौकीदार थापा केही महिनाअगाडि कारागारमा आन्दोलन गरेर चौकीदार बनेका थिए । जिल्ला प्रशासन तथा कारगार प्रशासनको कमजोरीका कारण कारागारमा यस्ता घटना हुने गरेको बताइन्छ ।