घर कलहको झोंकममा आमाले विष खुवाएर छोरी मारिन, आठ महिने छोरा र आमाको अवस्था गम्भीर
चैत १५ - घर कलहको झोंकमा आमाले विष खुवाउँदा दुई वर्षीया एक बालिकाको मृत्यु भएको छ भने आठ महिने शिशु र आमाको अवस्था नाजुक छ ।
सुनसरी नर्सिङ–४ बस्ने २० वर्षीया आमा सबनम खातुनले आफूसँगै दुई वर्षीया छोरी सकिना खातुन र आठ महिनाको छोरा हसबुललाई विष खुवाएपछि छोरी सकिनाको आज उपचारका क्रममा मृत्यु भएको हो ।
आमा सबनमले घर कलहको झोंकमा बुधबार राति दुई नानीसँगै आफूले पनि विष सेवन गरेकी थिइन् ।
विष सेवनबाट गम्भीर घाइते आमा र दुई नाबालकलाई उपचारका लागि विराटनगरस्थित कोसी अञ्चल अस्पताल ल्याइएको थियो ।
उपचारकै क्रममा छोरी सकिनाको मृत्यु भइसकेको र आठ महिने छोरा हसबुल र आमा सबनमको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रकाशित मिति:
March 28, 2013