चैत १५ - नवलपरासीको गण्डक क्षेत्रमा भारतीय पक्षद्वारा नेपाल हितकारी कोषअन्तर्गत निर्माण भएको भारतीय मुख्य पश्चिमी गण्डक नहरको भित्रिभाग पुनः भत्किएको छ ।
नेपाल हितकारी कोषअन्तर्गत भारतीय मुख्य पश्चिमी नहरको मजबुतीकरण र नहरबाट हुने सिपेज नियन्त्रणका लागि त्रिवेणी व्यारेजदेखि कुडियाको हरखपुरासम्म नहरको भित्रिभागमा ढलान गरेको थियो ।
ढलान गरिएको भागमध्ये रानीनगर नजिक र १६ आर डी सिरखोला नजिकको भाग गत जुनमा भत्किएको थियो । भत्किएको भाग करिब चार महिनाअघि मर्मत गरेको भए पनि १ आर डी, सिरखोला नजिकैको भाग पुनः भत्किएको हो ।
भारत सरकारले सन् २०११ बाट गण्डक क्षेत्रमा निर्माण कार्य सुरु गरेको हो । नेपाल हितकारी कोषअन्तर्गत भारत केन्द्र सरकारको ९० प्रतिशत र विहार सरकारको १० प्रतिशत गरी एक अर्ब ७१ करोड भारुको योजना कार्यान्वयन भइरहेको छ ।
तर नेपाल हितकारीको नाममा भारतीय स्वार्थको काम मात्र भइरहेको र त्यो पनि गुणस्तरहीन भइरहेको स्थानीयवासीको आरोप छ । गुणस्तरहीन कामबारे गण्डक नदी नियन्त्रण सङ्घर्ष समि ितले पटकपटक सरोकारवाला निकायकोे ध्यानाकर्षण गराउनुका साथै काम बन्द पनि गरेको थियो ।
फलस्वरुप नेपाल–भारत सचिवस्तरीय बैठकले नेपाल बेनिफिट स्किमअन्तर्गतका कामहरूको जाँच गर्न दुवै देशका प्राविधिक सम्मिलित जाँच समिति निर्माण गर्ने निर्णय गरेको गण्डक नदी नियन्त्रण सङ्घर्ष समितिका अध्यक्ष रामवरण केवटले रासससँग बताएका छन् ।
यसैगरी गतवर्ष त्रिवेणी बजारदेखि उत्तरतर्फको नारायणी नदी किनारामा गरिएको पिसिसी ढलान फुट्न थालेको छ । यस स्थानबाट पहिले पनि बाँध भत्किएकाले पुनः बाँध भत्कन सक्ने खतरा बढेर गएको छ । भारतको नागार्जु कम्पनीले करिब रु १६ करोड भारुमा त्रिवेणी व्यारेजदेखि उत्तरतर्फको बाँधको ठेक्का लिएको थियो ।